आन्दोलनप्रति सम्मान छ, तर नतिजा प्रक्रियामा हतार गरिएको छैनः शिक्षामन्त्री

खबर बुक
  • ख-
  • ख+

११ असार, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशनमा कुनै हतार नगरिएको बताएका छन् ।

कक्षाका १२ का विद्यार्थीले परीक्षाफलप्रति विद्यार्थीले असन्तुष्टि जनाउँदै सडक आन्दोलनमा उत्रिएपछि मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतार नगरिएको बताए ।

‘यस प्रक्रियाप्रति हामी स्पष्ट र विश्वस्त छौँ । नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो’ उनले भने ।

मन्त्री पोखरेलका अनुसार नतिजा प्रक्रिया व्यवस्थित रूपमा सम्पन्न गरिएको हो र तोकिएको समयमै नतिजा सार्वजनिक गरिएको हो ।

यसैबिच, यस विषयमा भइरहेको आन्दोलनप्रति उनले सम्मान व्यक्त गरेका छन् । उनले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण रूपमा आफ्ना आवाज उठाउने अधिकारको सम्मान हुनुपर्ने बताए । ‘यस विषयमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्दै गरिएको आन्दोलनप्रति हामी सम्मान व्यक्त गर्दछौँ । लोकतान्त्रिक समाजमा आफ्ना आवाज उठाउने अधिकारको सम्मान गरिनुपर्छ’ उनले भने ।

विद्यार्थीहरूप्रति सामाजिक सञ्जालमा देखिएका नकारात्मक टिप्पणीप्रति पनि उनले ध्यानाकर्षण भएको जनाएका छन् । शान्तिपूर्ण आन्दोलनमा सहभागी व्यक्ति वा समूहप्रति गालीगलौज, दुव्र्यवहार वा असम्मानजनक टिप्पणी नगर्न पनि उनले सबैलाई आग्रह गरेका छन् । ‘शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुव्र्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैमा अनुरोध गर्दछु’ उनले लेखेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्