सुनिता डंगोलले पेश गरिन् २५ अर्ब ८८ करोड ३० लाखको बजेट

खबर बुक
  • ख-
  • ख+

४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गरेकी छन् ।

जारी नगर सभामा डंगोलले २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैया सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड रूपैया अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रूपैयाको अनुमानित बजेट पेश गरेकी हुन् ।

चालू आर्थिक वर्ष २०८२-८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रूपैयाँको बजेट पारित गरेको थियो ।

‘आगामी आर्थिक वर्षको लागि सन्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैया जम्मा हुने अनुमान गरिएको छ,’ बजेट भाषण गर्दै कार्यवाहक मेयर डंगोलले भनिन्, ‘जसमध्ये काठमाडौं महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ भने नेपाल सरकार तथा प्रदेश सरकारवाट सशर्त, समानीकरण, राजश्व वाँडफाँडवाट प्राप्त हुने अनुदान ४ अबै ९३ करोड ६७ लाख २६ हजार रुपैयाको स्रोत अनुमान गरिएको छ । त्यसैगरी जनसहभागिता वापत १ करोडको श्रोत प्राप्त हुने अनुमान गरिएको छ ।’

क्षेत्रगत रूपमा प्रस्तुत वजेट तथा कार्यक्रम अन्तर्गत आर्थिक विकास क्षेत्रमा कुल बजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार रूपैयाँ प्रस्ताव गरिएको छ ।

सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत अर्थात् २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रूपैयाँ प्रस्ताव गरिएको छ । पूर्वाधार विकास क्षेत्रतर्फ ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रूपैयाँ रहेको छ ।

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ८.५ प्रतिशत अर्थात् २ अर्ब १३ करोड ४७ लाख ९२ हजार प्रस्ताव गरिएको छ त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १८.८ प्रतिशत अर्थात् ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैया प्रस्ताव गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्