काठमाडौं । एक साताअघि तारकेश्वर नगरपालिका- ६, लोलाङ, पैँयुटारमा ‘नेपाली ब्रो’ भनिने कुमार थापा मगरद्वारा पत्नी ईश्वरी भुजेलको हत्या प्रकरणमा पक्राउ परेका थप तीनजनामाथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।
घटनालगत्तै शुक्रबार राति ‘नेपाली ब्रो’ भनिने कुमार थापा मगरलाई प्रहरीले बालाजुबाट नियन्त्रणमा लिई त्यहाँस्थित प्रहरी वृत्तको हिसातमा राखेको थियो भने भोलिपल्ट थप तीनजना पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा नुवाकोट, तारकेश्वर गाउँपालिका- ३ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने ३६ वर्षका विक्रम थापा मगर, बालाजु बस्ने ४० वर्षीया पूजन थापा र जुम्ला घर भई गोकर्णेश्वर, जोरपाटी बस्ने २५ वर्षीया प्रतीक्षा आचार्य छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार चारैजना प्रतिवादीको बयान कागज भइरहेको छ । हालसम्म उनीहरु अनुसन्धानकै क्रममा छन् ।
पक्राउ परेकामध्ये विक्रम ‘नेपाली ब्रो’ का आफ्नै भाइ हुन् भने पूजन र प्रतीक्षा साथी हुन् । मृतक ईश्वरी भुजेलको माइती पक्षले दिएको जाहेरीमा नाम उल्लेख भएका कारण विक्रम, पूजन र प्रतीक्षालाई पक्राउ गरिएको हो ।
घटनाको अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार नेपाली ब्रोले अपराध कबुल गरेका छन् । अन्यले इन्कारी बयान दिएको प्रहरीले बताएको छ ।
पक्राउ परेकी प्रतीक्षा नेपाली ब्रोकी प्रेमिका भएको ईश्वरीका माइती परिवारले जाहेरीमै उल्लेख गरेका छन् । यसलाई पुष्टि गर्ने खालका फोटो भीडिओहरु पनि सार्वजनिक भएका छन् । तर, प्रतिक्षाले प्रहरीसँग आफू नेपाली ब्रोको साथी मात्रै भएको दावी गरेकी छन् । नेपाली ब्रोसँग एक टिकटकरको हिसाबले भेट भएको र सँगै केही टिकटक बनाएको बाहेक अन्य कुनै किसिमको सम्बन्ध नरहेको उनको भनाइ छ ।
‘टिकटक बनाउने आदत लागेका कारण म फसेँ, त्योबाहेक नेपाली ब्रोसँग मेरो अरु कुनै सम्बन्ध होइन’, प्रहरी बयानमा उनले भनेकी छन् । आफू नेपाली ब्रोको प्रेमिका भन्ने ईश्वरीको माइती पक्षले गरेको दावीलाई झुठो भन्दै उनले आफू अध्ययन र रोजगारीको खोजीमा काठमाडौं आएकोे बताएकी छन् । नेपाली ब्रोको घरायसी मामिलाका बारेमा घटना हुनुभन्दा अगाडि केही जानकारी नभएको उनको भनाइ छ ।
नेपाली ब्रोले घटनाभन्दा केही समयअगाडि प्रतीक्षासँग कारमै चुम्बन गर्दै नेपाली ब्रोले टिकटक लाइभ गरेका थिए । त्यसबेला ‘प्रतीक्षाले चुम्बनमात्रै गर्नु कुनै ठूलो कुरा होइन’ भन्ने प्रतिक्रिया दिएकी थिइन् । हत्यापछि टिकटक लाइभमा उनले घटनाको विरोध गरेकी थिइन् ।
पक्राउ परेका पूजनले हालसम्म आफू नेपाली ब्रोको साथी भएको स्वीकार गरेका छन् । तर, घटनामा आफ्नो कुनै सम्बन्ध नभएको उनले बताएका छन् । नेपाली ब्रोका भाइ विक्रमले ईश्वरीसँग कानुनी रुपमै अलग हुनु राम्रो हुने सुझाव दिएको, तर हत्याजस्तो जघन्य कार्यमा आफूले कुनै उक्साहट नगरेको बताएका छन् ।
उनीहरुमाथि अनुसन्धानका लागि प्राप्त म्याद जारी रहेका कारण बयानबाहेकका अन्य अनुसन्धान पनि चलिरहेको प्रहरीले जनाएको छ ।









