सभापतिकै कार्यशैलीमाथि प्रश्न उठाउँदै उपसभापतिले दिइन् फेसबुकबाट राजीनामा

खबर बुक
  • ख-
  • ख+

३ जेठ, काठमाडौं । नेपाली कांग्रेस रुपन्देहीमा आन्तरिक विवाद चर्किँदै गएको छ ।

निर्वाचनमा पार्टीको पराजयपछि उपसभापति थानेश्वर घिमिरेले दिएको राजीनामा यत्तिकै राखिएकोमा अहिले अर्का उपसभापति डा. अनिता ढुङ्गाना शाहले पनि पदबाट राजीनामा दिएकी छन्।

कांग्रेस सरकारमा रहेको बेला योजना आयोगको सदस्य बनेकी उनी सो पार्टीका नेता पूर्वमन्त्री भरत शाहकी श्रीमती हुन् ।

कांग्रेस नेताहरुका अनुसार अनिताले पार्टीका जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणको कार्यसम्पादनप्रति असन्तुष्ट जनाउँदै आएकी थिइन् ।

अहिले पनि उनले सभापति खाणलाई राजीनामा नदिएर सामाजिक सञ्जालबाट मार्गप्रशस्त गरेको जनाएकी छन् । नेतृ शाह यसअघि पदबाट राजीनामा दिएका घिमिरेको विषय यत्तिकै थाती राखिएको भन्दै असन्तुष्ट रहेकी थिइन् ।

कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले सहोदर भाइ रामकृष्ण खाणलाई रुपन्देहीमा सर्वसम्मत बनाउन अनिता शाहलाई उपसभापति बनाएर मिलाएका थिए ।

तत्कालीन अवस्थामा खाण र शाह देउवा पक्षधर रहेपनि अहिले बालकृष्ण खाण गगन समूहमै लागेको कांग्रेस नेताहरुको आंकलन छ । भरत शाह रुपन्देही ५ बाट लामो समयदेखि पार्टीको तर्फबाट संसदीय राजनीति गर्दै आएका छन् ।

अहिले आकस्मिक रुपमा नेतृ शाहले पार्टीको उपसभापति पदबाट फेसबुकमार्फत राजीनामा दिएको विषयले पार्टीभित्रको विवाद बाहिर आएको हो ।

उनले पार्टीमा औपचारिक रुपले राजीनामा नबुझाउने तर सामाजिक सञ्जालबाट जिम्मेवारी छाडेको जानकारी दिने विषयले अन्य कतैको अवसर लिने योजना रहेको दाबी पार्टीका नेताहरुको छ ।

‘उहाँले पार्टीबाट पाउने अवसर सधै लिनुभएको छ, भरत शाहले पनि लिनुभएको छ, योजना आयोगको सदस्य पार्टीले बनाएकै हो, रुपन्देहीको उपसभापति बनाएकै हो, भरत शाहलाई पटक पटक अवसर दिएकै छ, यस्तो अवस्थामा पार्टीको जिम्मेवारी छाड्ने अवसरवादीबाहेक केही होइन, अहिले रास्वपाले राजदूतको लागि आह्वान गरेको छ त्यसमा कुनै पार्टीमा नरहेको भन्ने छ, सायद त्यही हो कि, नभए पार्टीभित्र राजीनामा नदिने बाहिर प्रचार गर्ने नौटंकी हुँदैनथियो होला’ पार्टीका एक पदाधिकारीले भने ।

शाहले पार्टी परित्याग भने नगर्ने स्पष्ट गर्दै नेपाली कांग्रेसभित्रै रहेर वैचारिक र संगठनात्मक योगदान जारी राख्ने जनाएकी छन् ।

उनको राजीनामाभन्दा अघि सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको स्टाटसपछि नै पार्टीभित्र र बाहिर व्यापक चर्चा र राजनीतिक अड्कलबाजी सुरु भएको थियो ।

उक्त स्टाटसमा उनले जिल्ला तहको पार्टी सञ्चालन, निर्णय प्रक्रिया र संगठनात्मक अभ्यासप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

स्टाटसमा उनले पार्टीभित्र “अमर्यादित, अपारदर्शी, असन्तुलित तथा विभेदपूर्ण राजनीतिक अभ्यास” बढ्दै गएकोआरोप लगाउँदै संगठनभित्र “खिचडी प्रवृत्ति” मौलाएको टिप्पणी गरेकी थिइन् ।

उक्त अभिव्यक्तिपछि नै पार्टीभित्र के कारणले उनले यस्तो लेखिन् भन्ने चर्चा सुरु भएको थियो ।

उनले स्पष्ट रूपमा पार्टी परित्याग गर्ने कुनै योजना नभएको दोहोर्याउँदै नेपाली कांग्रेसमै रहेर संगठन, विचार र सिद्धान्तका आधारमा योगदान जारी रहने बताएकी छन् ।

नेपाल प्रेससँग कुरा गर्दै उनले भनिन्–‘मैले उपसभापतिबाट राजीनामा दिएको हो, अन्य विषय छलफल गर्दैछु । अहिले यही बुझाउने तयारीमा छु ।’

यता जिल्ला सभापति रामकृष्ण खाणले आफूसँग शाहको राजीनामा नआएको बताए । ‘सामाजिक सञ्लमा हल्ला सुनेको छु, पार्टीमा जिम्मेवारीमा बसेका व्यक्तिले विधिमा टेकेर जानुपर्छ, पार्टीलाई राजीनामाको कुनै जानकारी छैन’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्