कांग्रेसको जिल्ला पार्टी कार्यालय नखोलेपछि होटलमा बैठक, उपसभापतिले मागे सभापतिको राजीनामा

खबर बुक
  • ख-
  • ख+

१ जेठ, काठमाडौं । नेपाली कांग्रेस कैलालीको पार्टी कार्यालयमा ताला नखोलेपछि क्षेत्रीय समितिले धनगढीको एक होटलमा पार्टीको बैठक गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयले जेठ १२ गतेभित्र क्रियाशील सदस्यता अद्यावधिक गर्न निर्देशन दिएपछि क्षेत्र नम्बर ५ ले आज पार्टी कार्यालयमा वडा सभापति, क्षेत्रीय सभापतिसहित नेता तथा कार्यकर्तासँग छलफलका लागि बैठक आह्वान गरेको थियो ।

तर उनीहरू पार्टी कार्यालय पुग्दा कार्यालय खुलेको थिएन ।

क्षेत्रीय सभापतिले पटक-पटक कार्यालय सचिवलाई फोन गर्दा पनि नउठाएर बैठक प्रभावित गर्न खोजिएको आरोप लगाए ।

‘मैले पटक-पटक फोन गरेँ, न कार्यालय सचिवले फोन उठाउनुभयो, न कार्यालय खोल्न आउनुभयो । हाम्रो छलफल र बैठक प्रभावित गर्न खोजियो,’ उनले भने ।

कयौँ पटक फोन गर्दा पनि कार्यालय सचिव सम्पर्कमा नआएपछि क्षेत्रीय समितिको बैठक धनगढीको साथी होटलमा राखिएको उनले बताए ।

पार्टी जिल्ला उपसभापति भीम बडुवालले भने जिल्ला सभापतिको निर्देशनमा बैठक बस्न नदिएको आरोप लगाए ।

यसअघि पनि देउवा समूहको भन्दै पार्टीको काममा बाधा पुर्‍याइरहेको उपसभापति बडुवालले आरोप लगाए । केन्द्रीय समितिको निर्देशन उल्लंघन गर्ने अधिकार जिल्ला सभापतिसँग नरहेको भन्दै उनले राजीनामा दिन सुझाव दिएका छन् ।

‘यसअघि पनि जिल्ला सभापतिबाट पार्टीको काममा बाधा पुग्दै आएको थियो । अहिले फेरि सदस्यता अद्यावधिकसम्बन्धी बैठक नै बस्न नदिने गरी कार्यालय बन्द राखियो,’ उपसभापति बडुवालले भने, ‘केन्द्रलाई स्वीकार नगर्ने हो भने राजीनामा दिए हुन्छ ।’

सभापतिबाट पार्टी विरोधी गतिविधि जारी रहे केन्द्रले कारबाही प्रक्रिया थाल्नुपर्ने उनले बताए । यता सभापति भट्टले आफूले कार्यालय खोल्ने वा नखोल्ने विषयमा कार्यालय सचिवलाई कुनै निर्देशन नदिएको बताए ।

उनले आफूलाई आज पार्टी कार्यालयमा कुनै बैठक रहेकोबारे जानकारीसमेत नभएको बताए । ‘म गाउँमा छु । धनगढीमा के भइरहेको छ, मलाई कुनै जानकारी छैन । पार्टी कार्यालयमा लागेको तालाबन्दीबारे पनि मैले कसैलाई तालाबन्दी गर्न भनेको छैन,’ उनले भने ।

पार्टीका कार्यालय सचिवले केही दिनअघि आफू बिहेमा जाने बताएका थिए । ‘एउटा कार्यालय सचिव अस्ति बिहेमा जाने भन्दै थिए, अर्का किन आएनन् मलाई थाहा छैन,’ उनले भने, ‘यसमा मेरो कुनै जिम्मेवारी वा भूमिका छैन ।’

काङ्ग्रेस कैलाली सभापति भट्ट देउवा समूहका हुन् । पाँच दिनअघि केन्द्रीय सभापति र उपसभापति आउँदा पनि उनी उपस्थित भएका थिएनन् ।

काठमाडौंमा रमेश लेखक र एनपी साउदसहित भएको छलफलमा भट्टले सदस्यता अद्यावधिकको विरोध गरेका थिए ।

आज त्यही विषयलाई अगाडि बढाउन बोलाइएको छलफलमा कार्यालय सचिव सम्पर्कविहीन भएर कार्यालय नखोल्दा देउवा इतरका नेताहरूले केन्द्रको नीति उल्लंघन गरिएको आरोप लगाइरहेका छन् । यता सभापति भट्टले भने त्यसमा सत्यता नरहेको बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्