काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले विद्यार्थीहरूलाई प्राप्त अवसरहरूको भरपूर सदुपयोग गर्दै आफ्नो भविष्य आफैँ निर्माण गर्न आग्रह गरेका छन्।
शुक्रवार काठमाडौंमा आयोजित गुह्येश्वरी बालशिक्षा माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले मेहनत र समर्पणमार्फत कुनै पनि पारिवारिक पृष्ठभूमिबाट आएका विद्यार्थीहरूले जीवनमा सफलता हासिल गर्न सक्ने धारणा राखे।
“भविष्य उज्यालो बनाउन अहिले नै अध्ययन र श्रममा ध्यान दिन जरुरी छ,” उनले भने, “शिक्षा नै व्यक्तिको पहिचान र समाजमा प्रतिष्ठाको आधार हो।”
मन्त्री सिंहले अभिभावकहरूको भूमिकालाई पनि विशेष महत्व दिँदै आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने जिम्मेवारीमा गम्भीर हुनुपर्ने सुझाव दिए।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।











