काठमाडौं, साउन १ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जहाँ टेक्यो त्यहीँ भ्रष्टाचार हुने दाबी गरेका छन्।
बिहीबार ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा वाईसीएलको श्रम र उत्पादनसम्बन्धी अभियानको उद्घाटन गर्दै प्रचण्डले प्रधानमन्त्री ओली भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएका हुन्।
‘अहिलेको सरकारले जहाँ टेक्छ। त्यहीँ भ्रष्टाचारबाहेक केही छैन। सुशासनविरुद्ध खडा भएको यो सरकार सम्पूर्ण रूपले देशलाई असफल बनाउनेतिर अगाडि बढेको छ,’ उनले भने, ‘हामी सबैले जनतासँग राम्रो सम्बन्ध बनाएर श्रम र उत्पादनसँग जोडेर सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा लाग्नुपर्ने छ।’
प्रचण्डले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले अहिले मुलुक निकै जटिल मोडमा रहेको बताएका थिए।











