काठमाडौँ , २७ चैत । धार्मिक एवम् पर्यटकीय स्थल सुनसरीको वराहक्षेत्र चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला सुरु भएको छ ।
महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभयो । सो क्रममा राष्ट्रपति पौडेलले निमुखा जनताको निर्बाध स्वतन्त्रता उपयोग गर्न पाउनुपर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको दर्शनलाई सबैले आत्मसात् गर्न आग्रह पनि गर्नुभयो । वैशाख २८ गतेसम्म सञ्चालन हुने महाकुम्भ मेलामा देश विदेशबाट करिब ३० लाख दर्शनार्थी सहभागी हुने अनुमान छ । मेलामा आउने भक्तजनका लागि पाँच वटा स्थानमा स्नान स्थल निर्माण गरिएको छ । मेला स्थल वरिपरि सरसफाइ, स्नान स्थल निर्माण, पण्डाल, हवन कुण्ड, सहयोग स्थल, सुरक्षा, स्वास्थ्य, भण्डारा, बसपार्क लगायतको व्यवस्था गरिएको छ ।
विगतमा भारतका विभिन्न स्थानमा मात्र कुम्भमेला लाग्ने गरेकोमा २०५९ सालबाट सुनसरीको चतरामा पनि कुम्भमेला लाग्न थालेको हो । चतरामा हरेक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्ण कुम्भमेला लाग्ने गरेको छ ।
महाकुम्भकै अवसरमा चतरास्थित रामानन्दाचार्य सेवा पीठले पनि नवरात्र अनुष्ठान सुरु गरेको छ । अनुष्ठानअन्तर्गत रामचरित मानस नवपाठ परायण, वाल्मीकि रामायणपाठ, दुर्गासप्तसती चण्डीपाठ, राम पञ्चाङ्ग, चन्द्रकला सखीबाट राम कथा वाचनलगायत कार्यक्रम सुरु गरेको छ ।











