आचारसंहिता पालना गर्ने लमजुङका उम्मेदवार र दलको प्रतिबद्धता

न्युज कारखाना
  • ख-
  • ख+

लमजुङ, ३ कात्तिक।।प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्णरूपले पालना गर्ने लमजुङका उम्मेदवारले प्रतिबद्धता जनाएका छन् ।

जिल्लामा आयोजित सर्वदलीय बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनसमाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेश्नल अर्गनाइजेशन र राष्ट्रिय स्वतन्त्र पार्टीसमेतका राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवारसमेतले सो प्रतिबद्धता जनाएका हुन् ।

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनाल, प्रमुख जिल्लाअधिकारी सुशील वैध, सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन अधिकारी लगायतका सो कार्यक्रममा सहभागिता रहेको थियो । निर्वाचन आचारसंहिता २०७९ पूर्णरूपमा पालना गर्ने दलका नेता तथा कार्यकर्ताले प्रतिबद्धता गरेका छन् ।

सर्वदलीय बैठकमा आचारसंहिता २०७९ को नयाँ व्यवस्थाअन्तर्गत झण्डाको साइज, प्रचारप्रसारको अवधि, शिष्ट भाषाको प्रयोग, सञ्चारमाध्यमबाट सूचना प्रवाह गर्दा अपनाउनुपर्ने विधिसमेतका निर्वाचन आयोगद्वारा जारी गरेको विविध सामग्री प्रस्तुत गरिएको थियो ।

आसन्न निर्वाचनमा लमजुङमा जम्मा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन् । जिल्लामा ६८ हजार दुई सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता रहेका छन् ।

निर्वाचनको सुरक्षालाई मध्यनजर राखी जिल्ला प्रहरी कार्यालय लमजुङले म्यादी प्रहरीलाई तालिम प्रदान गरिरहेको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्