२१ माघ, काठमाडौं । राष्ट्रिय लोकसंचारकर्मी नेपालको १५ औं बार्षिक उत्सव सम्पन्न भएको छ । राजधानीको अनामनगरमा रहेको सिलौटो कटेज रेष्टुरेन्टमा शनिवार एक समारोहकाबीच १५ औं बार्षिक उत्सव सम्पन्न भएको हो ।
नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माकाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमा संस्थाले नेपाली लोकगीत , लोकसंस्कृति हिजो र आज विषयक अन्तरक्रिया गरेको छ ।
यस्तै संचारकर्मी तथा इन्द्रेणी सांस्कृतिक संस्थानका अध्यक्ष सामाजिक अभियन्ता कृष्ण कँंडेललाइ नगद ५ हजार ५५५ रुपैयाँ सहित गोविन्द शर्मा स्मृति क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुलपति शर्माले नेपाली लोकसंगीतको खोज अनुसन्धानको लागि सशक्त तवरबाट कार्य गर्न नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठा लागिरहेको बताउनुभयो । आगामी दिनमा कलाकारहरुको बर्गिकरण गरेर संष्टाका लागि परिचय पत्र दिने तयारी भइरहेको पनि जानकारी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रका वक्ता वरिष्ठ लोक गायक तथा चलचित्र निर्देशक नारायण रायमाझीले विगतको जस्तो लोकगीतमा मौलीकता हराउँदै गएको र भाइरल हुनका लागि ल्याइएका संगीतले संगीत क्षेत्रका लागि न्याय नगर्ने बताउनुभयो ।
गीतकार, साहित्यकार तथा वरिष्ठ रेडियोकर्मी डा. नवराज लम्सालले लोकगीतमा विकृति आयो भनेर रोइलो गर्ने पक्षमा आफू नरहेको प्रतिक्रिया दिनुभयो । अलिअलि छालमा फोहोर देखिए पनि बीचमा बग्ने नदी कंन्चन छ भने त्यो हराएर जाने बताउनुभयो ।
कार्यक्रमा देउडा गीतका ज्ञाता तथा वरिष्ठ गायक नन्दकृष्ण जोशी, वरिष्ठ गायक तथा काठ क्षेत्रका जानकार ध्रुवराज खड्का र गीतकार तथा सङ्गीतकार एक नारायण भण्डारीलगायतले वास्तविक स्रष्टाले रोयल्टी पाउने अवस्था नरहने हो भने मौलिक गीतहरु पनि हराउँदै जाने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । कलाकारका लागि राज्यले पनि उचित नीति र नियम ल्याएर न्याय गर्नुपर्नेमा वक्ताहरुले जोड दिनुभएको थियो ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संचारकर्मी तथा कलाकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।











