काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउने निर्णयमा पार्टीको कुनै हस्तक्षेप नरहेको बताएका छन्।
सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा पार्टीकै निर्देशनअनुसार कार्कीलाई हटाउने निर्णय भएको बताएका थिए। तर रास्वपा प्रवक्ता खरेलले भने पार्टीले सरकार सञ्चालनमा हस्तक्षेप नगर्ने र कुनै व्यक्तिलाई पदमा राख्न वा हटाउन निर्देशन नदिने स्पष्ट पारेका छन्।
अनलाइनखबरसँग कुरा गर्दै खरेलले सरकार सञ्चालनमा पार्टीले प्रधानमन्त्रीलाई सहयोग गर्ने भए पनि कसलाई राख्ने वा हटाउने भन्ने निर्णयमा हस्तक्षेप नगर्ने बताएका हुन्।
उनले भने, ‘सरकार सञ्चालनमा पार्टीले प्रधानमन्त्रीलाई सहयोग गर्छ। कुनै व्यक्तिलाई हटाऊ वा राख भन्ने काम पार्टीले गर्दैन।’
आईजीपी कार्कीलाई हटाउने घटनामा पार्टीको भूमिका नरहेको दोहोर्याउँदै उनले पार्टीले कुनै व्यक्तिलाई हटाउन वा राख्न निर्देशन नदिएको र नदिने पनि बताए।
त्यस्तै, केही दिनअघि समाचारको विषयलाई लिएर पत्रकारहरू पक्राउ परेको घटनाबारे पनि सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने उनले बताएका छन्।
खरेलका अनुसार पत्रकार पक्राउ गर्ने व्यक्ति तथा पक्राउ गर्न आदेश दिनेहरूमाथि कारबाही हुनुपर्ने विषय पार्टीले उठाएको थियो। तर सरकारले कार्कीको जिम्मेवारी हेरफेरलाई उक्त घटनासँग जोडेर कारबाही गरेको स्पष्ट पारेको छैन।
सरकारले कार्कीलाई कारबाही गरिएको नभई जिम्मेवारी हेरफेर गरिएको बताएको उल्लेख गर्दै खरेलले यस विषयमा सरकारले नै थप स्पष्ट पार्नुपर्ने बताएका छन्।










