काठमाडौं । भुटानको गसा जिल्लास्थित लेम्थाङ क्षेत्रमा हिमताल फुट्दा भीषण बाढी आएको छ। मो छु नदी हुँदै सङ्कोश नदीतर्फ तीव्र गतिमा बाढी बगेपछि भारतको पश्चिम बङ्गाल प्रशासनले उत्तर बङ्गाल क्षेत्रमा उच्च सतर्कता अपनाएको छ। सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थान तथा आश्रयस्थलमा सारिएको छ।
भुटानको राष्ट्रिय सञ्चारमाध्यम भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस) का अनुसार बाढीले गसा जिल्लास्थित प्रसिद्ध पर्यटकीय स्थल गसा छाछु प्राकृतिक तातोपानी क्षेत्रका पूर्वाधारमा क्षति पुर्याएको छ। घटनामा हालसम्म मानवीय क्षति वा कोही घाइते भएको खबर प्राप्त भएको छैन।
रातिको समयमा आएको बाढीका कारण भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ। अँध्यारो र पानीको तीव्र बहावका कारण क्षतिको आकलन गर्न कठिन भइरहेको बीबीएसले जनाएको छ। बाढीले दुईवटा बेली ब्रिजसमेत बगाएको आशंका गरिएको छ।
भुटानी पत्रिका कुएनसेलका अनुसार तातोपानी क्षेत्रतर्फ जाने लाया गाउँको सडकका केही भाग बाढीले बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक अनिश्चितकालका लागि बन्द गरिएको छ। बाढी तातोपानी क्षेत्रमा पुग्नुअघि नै उक्त क्षेत्र खाली गराइएको थियो।
भुटानमा हिमताल फुटेको खबर प्राप्त भएपछि पश्चिम बङ्गाल प्रशासनले विपद् व्यवस्थापन संयन्त्र सक्रिय बनाएको छ। सङ्कोश नदी र यसका सहायक नदी किनारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन आग्रह गरिएको छ। दार्जिलिङ र डुअर्स क्षेत्रका बासिन्दालाई समेत उच्च सतर्कता अपनाउन भनिएको छ।
दार्जिलिङका सांसद राजु बिष्टले सामाजिक सञ्जालमार्फत सङ्कोश नदी र यसका सहायक नदीको तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्।
राज्यमन्त्री निसिथ प्रामाणिकका अनुसार भुटानमा हिमताल फुटेको खबर आएलगत्तै सङ्कोश र मो छु नदी आसपासका बासिन्दालाई सतर्क गराइएको थियो। बाढीको पानी पाँचदेखि छ घण्टाभित्र मैदानी क्षेत्रमा पुग्न सक्ने अनुमानपछि राज्य विपद् व्यवस्थापन टोली र राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) परिचालन गरिएको छ।
अलिपुरद्वारका प्रहरी प्रमुख अमित कुमार शाहले अवस्था नियन्त्रणमा राख्न प्रशासनले निरन्तर काम गरिरहेको बताएका छन्। उनका अनुसार करिब चारदेखि पाँच हजार मानिसलाई विद्यालय भवनमा बनाइएका राहत शिविरमा राखिएको छ भने छ हजारभन्दा बढीलाई अन्य सुरक्षित स्थानमा सारिएको छ।
राहत शिविरमा सुक्खा खाना, पिउने पानी र शौचालयको व्यवस्था गरिएको छ। सङ्कोश नदी क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। पछिल्लो जानकारीअनुसार पानीको बहाव केही घटे पनि प्रशासनले उच्च सतर्कता कायम राखेको छ।
हिमतालमा जम्मा भएको पानीलाई रोक्ने प्राकृतिक बाँध भत्किएर ठूलो मात्रामा पानी तल्लो क्षेत्रमा बग्ने घटनालाई हिमताल विस्फोटजन्य बाढी अर्थात् ग्लेसियल लेक आउटबर्स्ट फ्लड (जीएलओएफ) भनिन्छ। यस्तो बाढीले हिमाली क्षेत्रमा रहेका सडक, पुल, पूर्वाधार र बस्तीमा ठूलो क्षति पुर्याउन सक्छ।
भुटानमा आएको यस बाढीले छिमेकी भारतीय क्षेत्रसमेत जोखिममा पारेपछि दुवै क्षेत्रका प्रशासनले उद्धार, राहत तथा सम्भावित क्षति न्यूनीकरणका लागि सतर्कता बढाएका छन्।










