काठमाडौं । बजारमा खाना पकाउने ग्यासको सहज आपूर्ति हुन नसक्दा काठमाडौंको जडीबुटीस्थित ग्यास डिपोमा सिलिन्डर लिन उपभोक्ताहरूको लामो लाइन लागेको छ ।
ग्यास पाउने आशामा उपभोक्ताहरू घण्टौँदेखि डिपो परिसरमा लामबद्ध हुन बाध्य भएका छन् । पर्याप्त ग्यास उपलब्ध नहुनु तथा आपूर्ति प्रक्रिया सहज नहुँदा डिपोमा उपभोक्ताको भीड बढेको हो ।
कडा घाममा लामो समयसम्म लाइनमा बस्नुपर्दा विशेषगरी ज्येष्ठ नागरिक, महिला तथा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ ।
घण्टौँ लाइनमा बस्दा एकातिर दैनिक काम छुट्ने र अर्कोतर्फ सहज रूपमा ग्यास पाइने निश्चित नहुँदा उपभोक्ताहरू थप आक्रोशित र चिन्तित बनेका छन् ।
उपभोक्ताहरूले ग्यासको नियमित तथा सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।



















