पाल्पा । पाल्पामा चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २० गतेसम्म २३१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार उक्त अवधिमा पुष्टि भएको संक्रमितको संख्या लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै हो। आर्थिक वर्ष सुरु भएयता गरिएको परीक्षणको तथ्यांक हेर्दा पाल्पाबाट सबैभन्दा धेरै डेंगु संक्रमित रिपोर्ट भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुदन भट्टराईले जानकारी दिए।
जिल्लाका चारवटा अस्पतालमा गरिएको परीक्षणका क्रममा डेंगु संक्रमितको संख्या बढ्दो देखिएको हो। पाल्पा अस्पताल तानसेन, रामपुर अस्पताल रामपुर, लुम्बिनी मेडिकल कलेज प्रभास र युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारका लागि पुगेका बिरामीको परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको भट्टराईले बताए।
जिल्लाका अन्य स्वास्थ्य संस्था तथा निजी मेडिकलमा समेत डेंगु संक्रमित भेटिने क्रम बढिरहेको उनले जानकारी दिए। जलवायु परिवर्तनसँगै डेंगु परीक्षणको दायरा बढेका कारण पनि संक्रमितको संख्या बढेको स्वास्थ्य कार्यालयको भनाइ छ।
यस्तै, जिल्लाका दुई ठूला निजी अस्पतालमा बाहिरी जिल्लाबाट उपचारका लागि आउने बिरामीमा समेत डेंगु संक्रमण धेरै देखिएको बताइएको छ। यही कारण लुम्बिनी प्रदेशमै पाल्पामा संक्रमितको संख्या सबैभन्दा धेरै देखिएको हो।
पाल्पामा अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा ४३२ जना, आर्थिक वर्ष २०८१/८२ मा ५१० जना र आर्थिक वर्ष २०८०/८१ मा ६८६ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो।
जलवायु परिवर्तनका कारण डेंगु सार्ने लामखुट्टेको वृद्धि र विकासका लागि अनुकूल वातावरण बन्दा संक्रमितको संख्या बढेको सूचना अधिकारी भट्टराईले बताए। वर्षायाममा पानी जम्ने स्थान बढ्ने भएकाले लामखुट्टेको प्रजनन बढ्दा डेंगु संक्रमणको जोखिमसमेत बढ्ने गरेको छ।
डेंगु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। संक्रमण भएमा अत्यधिक टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछाडिको भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने र पेट दुख्ने जस्ता लक्षण देखिन सक्छन्। गम्भीर अवस्थामा नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने, शरीरमा रगत जमेको जस्तो दाग देखिने तथा बेहोस हुनेजस्ता समस्या पनि हुन सक्छन्।
डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन र लामखुट्टेको वृद्धि रोक्न पानी जम्ने स्थान नष्ट गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।










