९ कात्तिक, काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहारबाट चारजना घाइते भएका छन् ।
घाइते हुनेमा तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया अन्जना राई, ६२ वर्षीया स्यामाउन राई, २५ वर्षीया तेनिना राई र नरेन्द्र राई रहेका छन् ।
दशैं मान्न ससुराली आएका ४३ वर्षीय नइन्द्रकुमार राईले उनीहरूमाथि आक्रमण गरेको खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले अनलाइनखबरलाई जानकारी दिए ।
बस्नेतका अनुसार घाइते अञ्जना नइन्द्रकुमारका श्रीमती हुन् भने स्यामाउन सासु, नरेन्द्र ससुरा र तेनिना साली हुन् ।
प्रहरीका अनुसार आक्रमणबाट अन्जना र तेनिनाको अवस्था गम्भीर छ । उनीहरूलाई उद्धार गरी उपचारका लागि नगर अस्पताल दुर्छिम पठाइएको छ ।
हतियार प्रहार गर्ने नइन्द्रकुमारलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









