काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आन्तरिक सांगठनिक काम र राजनीतिक संवादभन्दा प्राकृतिक विपत्तिमा परेका नागरिकको सेवा अहिलेको मुख्य प्राथमिकता रहेको बताएका छन्।
आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बोल्दै थापाले पार्टीको महाधिवेशन तथा आन्तरिक छलफल नियमित प्रक्रिया भएको उल्लेख गर्दै संकटको समयमा राजनीतिक जोडघटाउभन्दा जनसेवालाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।
बाढी तथा पहिरोबाट ठूलो क्षति भएका धादिङ, रसुवा र नुवाकोटलगायत जिल्लामा प्रभावित नागरिकको सहयोगका लागि कांग्रेसका नेता तथा कार्यकर्ता फिल्डमै खटिएको उनले जानकारी दिए। स्थलगत रूपमा प्राप्त तथ्य तथा विवरणका आधारमा पार्टीले आगामी कार्ययोजना तय गरी निरन्तर काम गर्ने थापाको भनाइ छ।
‘नेताहरूसँगको संवादभन्दा पीडितको समस्या महत्त्वपूर्ण’
पार्टीभित्र पछिल्लो समय भएका राजनीतिक भेटघाटबारे स्पष्ट पार्दै थापाले सञ्चारमाध्यमले ती भेटवार्तालाई चासोका साथ हेर्नु स्वाभाविक भए पनि अहिले आफ्नो प्राथमिकता विपद्मा परेका नागरिक रहेको बताए।
‘शेरबहादुर देउवा, डा. शेखर कोइराला र पूर्णबहादुर खड्कालगायतका नेताहरूसँगको संवाद र भेटघाटलाई सञ्चारमाध्यमले चासोका साथ हेर्नु स्वाभाविक हो। तर मेरो लागि ती संवादभन्दा अहिले धादिङ, रसुवा र नुवाकोटका पीडित नागरिकको समस्या समाधान र उहाँहरूसँगको संवाद बढी महत्त्वपूर्ण छ,’ थापाले भने।
महाविपद्को यो घडीमा यस वर्षको दशैँ, तिहारलगायत कुनै पनि चाडपर्वमा विश्राम नलिई प्रभावित नागरिकका लागि काम गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
‘यसपटक हामीलाई कुनै पनि चाडपर्वले छुँदैन,’ थापाले भने, ‘सर्वस्व गुमाएका पीडितहरूको साथमा रहेर हामी निरन्तर काम गर्नेछौँ।’










