शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । शिक्षक आन्दोलनको इतिहास, संगठन निर्माण र विभिन्न चरणमा भएका संघर्षलाई समेटेर तयार पारिएको पुस्तक ‘शिक्षक आन्दोलनको इतिहास’ सार्वजनिक गरिएको छ ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले लेख्नुभएको पुस्तक शनिवार काठमाडौंमा एक कार्यक्रमका बिच लोकार्पण गरिएको हो । पुस्तकले २००७ सालदेखि सुरु भएका शिक्षक संगठनको विकासक्रमदेखि २०३६ सालपछि संगठित रूपमा अघि बढेको शिक्षक आन्दोलन र हालसम्मका गतिविधिलाई अभिलेखका रूपमा प्रस्तुत गरेको छ ।

कार्यक्रममा अध्यक्ष सुवेदीले शिक्षक आन्दोलनको इतिहास लामो समयसम्म व्यवस्थित रूपमा दस्तावेजीकरण हुन नसकेको बताए । उनका अनुसार नेपालमा शिक्षक संगठनहरू २००७ सालदेखि गठन हुन थालेका थिए भने २०३६ सालदेखि संगठित रूपमा शिक्षक आन्दोलन अगाडी बढेको थियो । छरिएर रहेर बसेको शिक्षक आन्दोलनको इतिहासलाई आफूले अभिलेखीकरण गरेको उनले जानकारी दिए ।

कीर्तिपुरस्थित केन्द्रीय पुस्तकालयमा रहेका पुराना पत्रपत्रिका, गोरखापत्र, विभिन्न संगठनका स्मारिका तथा अन्य ऐतिहासिक सामग्री अध्ययन गरेर पुस्तक तयार पारेको उनले जानकारी दिए । शिक्षक आन्दोलनसँग जोडिएका पुराना नेताहरूसँग अन्तर्वार्ता लिएर समेत सामग्री संकलन गरिएको उनको भनाई छ । इतिहास लेख्दा व्यक्तिगत प्रतिष्ठाभन्दा तथ्य र आधिकारिकतालाई प्राथमिकता दिएको उनले बताए ।

पुस्तकमा आधिकारिक रूपमा प्रमाणित भएका तथ्य मात्र समेटिएको र छुटेका विषय प्रमाणित भएमा आगामी संस्करणमा समावेश गरिने उनले जानकारी दिए । उनले भने, ‘अहिलेसम्म दस्तावेजीकरण भएको रहेनछ । अब यो ३६ सालदेखि सङ्गठित आन्दोलन सुरु भो । सङ्गठनहरू ७ सालबाट सुरु भए, तर ३६ सालदेखि ८३ सालसम्म आउँदा यसको अभिलेखीकरण नहुनु त हामी सबैका लागि पीडाको कुरा हो ।’

कार्यक्रममा पुस्तकको समिक्षा गर्दै पूर्व सचिव खगराज बराल, नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशवप्रसाद भट्टराई, डा. जानुका नेपाल पौडेलले शिक्षकप्रति सरकार कहिल्यै उदार नदेखिएको बताए । उनीहरूले सरकारले शिक्षकसंग गरेका सम्झौताहरु कहिल्यै कार्यान्वयन गर्न चासो नदेखाएको आरोप लगाए । शिक्षकहरूप्रति सरकारले गरेका व्यवहारको कारण शिक्षण पेसामा मान्छेहरूको अरुचि बढ्दै गएको उनीहरूको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्