चितवन । रसुवा क्षेत्रमा आएको भीषण बाढी चितवनतर्फ बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले उच्च सतर्कता अपनाएको छ। माथिल्लो तटीय क्षेत्रमा बाढीले पुर्याएको क्षतिको अवस्थालाई विश्लेषण गर्दै चितवनमा समेत ठूलो जोखिम हुन सक्ने निष्कर्षसहित सुरक्षा तयारी तीव्र पारिएको हो।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार त्रिशूली र नारायणी नदीको बहाव बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरु गरिएको छ।
‘माथि जुन तहको क्षति भएको छ, त्यसैका आधारमा चितवन पनि प्रभावित हुन सक्छ भन्ने हाम्रो विश्लेषण छ। त्यसैले हामीले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम गरिसकेका छौँ,’ अर्यालले भने।
प्रशासनले स्थानीय तहसँग समन्वय गरी माइकिङमार्फत सर्वसाधारणलाई सतर्क गराइरहेको छ। विशेषगरी फिस्लिङदेखि गोलाघाटसम्मका त्रिशूली र नारायणी नदी किनारका बस्तीलाई उच्च जोखिममा राखिएको छ।
कुन–कुन क्षेत्र जोखिममा ?
प्रजिअ अर्यालका अनुसार मुग्लिन बजार क्षेत्र, नारायणगढको नारायणी नदी किनारका बस्ती, भरतपुर महानगरपालिका–१६ को तटीय क्षेत्र तथा पश्चिम चितवनका तल्लो भूभाग बाढीको उच्च जोखिममा छन्।
नदीको बहाव अत्यधिक बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा निकायका सबै टोलीलाई ‘हाई अलर्ट’मा राखिएको छ।
‘हाम्रो मुख्य प्राथमिकता मानवीय क्षति हुन नदिने हो,’ अर्यालले भने, ‘नदीको बहाव बढ्ने क्रममा रहेकाले सबै तयारी पूरा गरिएको छ र सुरक्षाकर्मीहरू फिल्डमै परिचालित छन्।’
माथिल्लो क्षेत्रमा परेको अविरल वर्षा तथा त्यसबाट आएको बाढीका कारण चितवनका नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ।










