काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तार गर्ने क्रममा आठ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।
प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा भूमिगत विद्युत् लाइन विस्तारको काम गर्न लागिएको हो। त्यसका लागि कात्तिक १३ गतेदेखि २० गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार कात्तिक १३ गते बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिएको छ।
त्यस्तै, कात्तिक १४ गते सीतापाइला फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म विद्युत् अवरुद्ध हुनेछ। कात्तिक १५ गते कलंकी, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् आपूर्ति बन्द गरिनेछ।
यसैगरी, कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म विद्युत् कटौती हुनेछ भने कात्तिक १७ गते शंखमुल फिडरअन्तर्गत युएनपार्कदेखि बिजुलीबजारसम्म बत्ती जानेछ।
कात्तिक १८ र २० गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। त्यस्तै, कात्तिक १९ गते स्युचाटार एसएस फिडरअन्तर्गत हाजमा पुल क्षेत्रमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले मौसम प्रतिकूल भएमा निर्धारित कार्यतालिका रद्द हुन सक्ने पनि स्पष्ट पारेको छ। भूमिगत विद्युत् लाइन विस्तारका लागि विद्युत् आपूर्ति बन्द गर्नुपर्ने भएकाले सम्बन्धित क्षेत्रका उपभोक्तालाई आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ।










