काठमाडौं । पृथ्वीराजमार्गको कृष्णभिर खण्डमा पहिरो गएर सडक अवरुद्ध भएपछि काठमाडौंमा एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्था मिलाइएको छ।
नेपाल आयल निगम लिमिटेडका अनुसार काठमाडौंका विभिन्न उद्योगका ग्यास सिलिन्डर तराईका विभिन्न उद्योगमा रिफिल गरी वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याएर बिक्री वितरण भइरहेको छ।
निगमका अनुसार बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरी जिल्लामा रहेका १६ वटा ग्यास उद्योगमा सिलिन्डर रिफिल गरिएको छ।
भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ सिलिन्डर रिफिल गरिएको छ। यसरी तीन दिनमा कुल ८७ हजार ८७७ सिलिन्डर रिफिल गरेर काठमाडौं भित्र्याइएको निगमले जनाएको छ।
निगमका अनुसार श्री ग्यास, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा, श्रीकृष्ण, श्रीमाया, लोकप्रिय, एभरेस्ट, सुगम, नेपाल, एचपी, एसटीसी, सिद्धार्थ, हिमाल, सिताश्री र नमस्ते ब्रान्डका ग्यास आपूर्ति भइरहेको छ।
पृथ्वीराजमार्गको कृष्णभिर खण्ड मर्मत भई नियमित रूपमा सञ्चालनमा नआएसम्म वैकल्पिक प्रक्रियाबाटै एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरणलाई निरन्तरता दिइने नेपाल आयल निगमले जनाएको छ।











