काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद वदन भण्डारीले खाना पकाउने एलपी ग्यासको ढुवानी खर्चमा गरिएको वृद्धिको वैज्ञानिक आधारमाथि प्रश्न उठाएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजोन) ले राजधानीमा आयोजना गरेको ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य शृङ्खलामा परेको प्रभाव र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद भण्डारीले नेपाल आयल निगमले विपद्को बहानामा व्यवसायीलाई फाइदा पुर्याउने काम गरेको आरोप लगाए।
सांसद भण्डारीका अनुसार नेपाल आयल निगमले गत भदौ १६ गते भोटेकोशी बाढी र कृष्णभीर पहिरोका कारण आपूर्ति शृङ्खलामा समस्या भएको भन्दै पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको थियो। तर त्यसको दुई दिनपछि साधारण सभाको अवसरमा व्यवसायीलाई प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा ढुवानी खर्च थप गर्ने निर्णय गरिएको भन्दै उनले आपत्ति जनाए।
पृथ्वी राजमार्ग अवरुद्ध भएका कारण ठूला बुलेट ल्याउन कठिन भएको र साना सवारीसाधन प्रयोग गर्नुपर्दा ढुवानी लागत बढेको निगमको तर्क भए पनि वृद्धि गरिएको रकम तर्कसंगत नभएको भण्डारीको भनाइ छ।
बजारमा ग्यासको आपूर्ति सहज हुन नसकेको विषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराए। निगमले एक साताभित्र आपूर्ति सहज हुने आश्वासन दिएको डेढ महिना बितिसक्दा पनि उपभोक्ताले ग्यासका लागि लाइन बस्नुपर्ने अवस्था कायमै रहेको उनले बताए।
देशभर करिब १ करोड ७५ लाख ग्यास सिलिन्डर रहेको तथ्यांक प्रस्तुत गर्दै भण्डारीले बजारमा अभाव देखिनुमा व्यवसायीले ग्यास लुकाएको वा अनावश्यक रूपमा स्टक राखेको हुनसक्ने आशंका व्यक्त गरे।
भण्डारीले भने, ‘एक बुलेट ग्यासले करिब १ हजार २५० सिलिन्डर बोक्छ। बाटोको अवस्थाका कारण तीनवटा साना गाडीले सोही परिमाण बोक्नुपर्दा पनि ढुवानी खर्चमा यति ठूलो अन्तर कसरी आयो? १०५ रुपैयाँ ३८ पैसा नै बढाइनुको वैज्ञानिक आधार के हो?’
उनले पुरानै मौज्दातमा रहेका करिब ५० लाख सिलिन्डरमा समेत प्रतिसिलिन्डर १०५ रुपैयाँ मूल्य बढ्दा करोडौँ रुपैयाँको चलखेल हुनसक्ने दाबी गर्दै नियमनकारी निकायले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।
‘यस्तो बेलामा नियमनकारी निकाय टुलुटुलु हेरेर बस्न मिल्दैन,’ उनले भने।
नियमनकारी निकाय र सम्बन्धित मन्त्रालयले यस्तो परिस्थितिमा मौनता साँधेको भन्दै सांसद भण्डारीले आलोचना गरे। विपद्का समयमा उपभोक्तालाई राहत दिनुको सट्टा ढुवानी खर्चका नाममा थप आर्थिक भार थोपरेको र यसले बजारमा कृत्रिम अभाव सिर्जना गर्नसमेत मद्दत पुगेको उनको दाबी छ।











