
काठमाडौं, भदाै ३१ । नेपालमा पेट्रोल र हाइड्रोेजन दुबै इन्धनबाट चल्ने कारको इन्जिन विकास भएको छ ।
काठमाडौं थापागाउँस्थित रिन्यु जेन रिसोर्सेस नेपालले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक र बेलायतको एक विश्वविद्यालयसँग सहकार्य गरी पेट्रोल र हाइड्रोेजन दुबै इन्धनबाट चल्ने कारको इन्जिन विकास गरेको हो ।
दुबै प्रकारका विकल्प सहितको कारको प्रविधिलाई ‘डुअल मोडल हाइड्रोजन कम्बसन इन्जिन’ नाम दिइएको छ ।
‘डुअल मोडल हाइड्रोजन कम्बसन इन्जिन’ जडान गरिएको कारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आज शुभारम्भ गरेका हुन ।
पेट्रोल र हाइड्रोजन दुबैबाट चल्ने कारको इन्जिन निर्माणको नेतृत्व रिन्यु जेन रिसोर्सेसका हाइड्रोज विज्ञ डा। प्रकाश थापाले गरेका थिए । यो प्रविधिको थप विकास र विस्तार गर्न सके थोत्रा भनेर थन्काइएका सयौं सवारीसाधनलाई पुनः प्रयोगमा ल्याउन सकिने उनले बताएका छन ।
रिन्यु जेन रेसोर्सेस नेपालका कार्यकारी अधिकृत डा। प्रमोद टण्डनले आफूहरुको प्रयास सफल भएकाले गाडी धनीहरुलाई अब पेट्रोल र हाइड्रोजन दुवै प्रकारका ऊर्जा प्रयोग गर्न मिल्ने विकल्प खुल्ला भएको बताएका छन । पहिलो चरणको यो प्रविधि सफल भएकाले अब दोस्रो चरणमा नेपालमै शतप्रतिशत हाइड्रोजन राखेर परीक्षण गरिने र त्यसपछि भारतमा समेत यो प्रविधि प्रदर्शन गर्ने लक्ष्य रहेको डा. टण्डनले बताएका छन ।
‘नेपालमा नौलो प्रविधि’
नेपालमा पेट्रोल, डिजल र ग्याँसबाट चल्ने गाडीहरु बढी प्रयोगमा छन् । पछिल्लो समय ब्याट्रीबाट चल्ने गाडीहरुको किनबेच पनि तीव्र भइरहेको छ । यसबीचमा काठमाडौं विश्वविद्यालयले हाइड्रोजनबाट चल्ने हाइड्रोजन फ्युलसेल कार भित्राएपछि त्यसले धेरैको ध्यान तानेको छ ।
अहिले रिन्यु जेन रेसोर्सेस नेपालले विकास गरेको ‘डुअल मोडल’ इन्जिन विकसित मुलुकहरुमा सफल परीक्षण भइसकेको र व्यापारिक प्रयोजनमा समेत गइरहेको छ । तर नेपालमा हालसम्म यस्तो प्रविधिको विकास नभएकाले यसलाई नौलो मानिएको छ ।
हाइड्रोजन नभएको अवस्थामा शतप्रतिशत पेट्रोल राखेर चलाउन समेत सकिने भएकाले यस प्रविधिलाई तुरुन्त व्यापारिक प्रयोजनमा लैजान सकिने दाबी गरिएको छ ।
कति लाग्छ खर्च ?
हाइड्रोजन कम्बसन इन्जिन विकास प्रक्रियालाई नजिकबाट नियालिरहेका त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका सहायक प्राध्यापक लक्ष्मण मोत्राका अनुसार यो प्रविधि आर्थिक हिसाबले सस्तो र प्राविधिक हिसाबले सजिलो पनि छ । त्यसैले अब हाइड्रोजन कम्बसन इन्जिनको युगमा प्रवेश गर्नुपर्ने उनको मत छ ।
रिन्यु जेन रिसोर्सेस नेपालका प्रोजेक्ट म्यानेजर युवराज ढकालका अनुसार डुअल मोडल अर्थात् हाइड्रोजन कम्बसन इन्जिन अहिले नेपालमा पेट्रोलियम पदार्थबाट चलिरहेका सबैजसो सवारी साधनमा प्रयोग गर्न मिल्छ । र, यो काम थोरै मात्र खर्चमा गर्न सकिन्छ ।त्यसका लागि आवश्यक पर्ने हाइड्रोजन उत्पादनलाई बढावा दिन पाइलट प्रोजेक्ट सञ्चालनको गृहकार्यसमेत भइरहेको ढकाल बताउँछन् ।
कानुनी व्यवस्था गर्न मन्त्रालयमा तयार गत ४ माघमा बसेको मन्त्रिपरिषद बैठकले ग्रिन हाइड्रोजन नीति स्वीकृत गरेको थियो । तर त्यससँग सम्बन्धित ऐन, नियम र कार्यविधि बनाउन भने बाँकी छ । त्यसैले यसको कार्यान्वयनमा भने अझै समस्याहरु छन् । अहिलेका सरकारी ऐन नियमले नेपालका लागि नितान्त नयाँ हाइड्रोजन ऊर्जाको प्रयोगलाई समेट्दैन । त्यसैले यसको प्रयोगसम्बन्धी एकीकृत मापदण्ड बनाउने र प्रचलित कानुनी व्यवस्थामा संशोधन गर्ने तयारी भइरहेको अधिकारीहरु बताउँछन् ।
पेट्रोल र हाइड्रोजन दुबै इन्धनबाट चल्ने कार शुभारम्भ कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको बताए । प्रविधिको उपयोगबाट प्रगति र समृद्धिको यात्रा सहज बनाउन सकिने भन्दै उनले समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न वैकल्पिक ऊर्जा, प्रविधि र अनुसन्धानलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताएका छन ।
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले हाइड्रोजन नेपालले प्राकृतिक रूपबाट प्राप्त गर्न सक्ने भएकाले औद्योगिक उत्पादन र उपयोगका लागि कानुनी व्यवस्था गर्न मन्त्रालय तयार रहेको बताएका छन ।