काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थहरुको गठजोडलाई निर्वाचनमा पराजित गर्ने दावी गर्नुभएको छ ।
शनिबार काठमाडौंमा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको पहिलो अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले कुनै भिजन र उदेश्य नभएको स्वार्थहरुको गठजोडलाई पराजित गर्नुपर्ने बताउनुभएको हो । उहाले गठबन्धको घोषणा पत्र जनता अलमल्याउने खेल मात्रै भएको तर्क गर्नुभयो । परमादेशबाट बनेको १६ महिनामा नै गठबन्धन सरकारले देशलाई कंगाल बनाउने काम गरेको भन्दै उहाले जनादेशबाट गठबन्धनले सरकार बनाए मुलुक लुटतन्त्रमा भासिने धारणा राख्नुभयो ।
ओलीले पद नपाएकै कारण गठबन्धनमा रहेका दलहरु कांग्रेसको पछि लागेको र मुलुकलाई समेत अस्थीरताको भूमरीमा फसाएको आरोप पनि लगाउनुभयो । उहाले अहिले भिजनसहितको बलियो शक्ति राष्ट्रलाई चाहिएकाले सवै हिसावले समर्थनवान भएको पार्टी एमालेमात्रै रहेको दावी गर्नुभयो । ओलीले नेकपा एमालेबाहेक अरु कुनै बलियो शक्ति मुलुकमा आउनै नसक्ने भन्दै एक्लै बहुमतको सरकार जानु परेको बताउनुभयो ।
ओलीले एमाले सरकारले राष्ट्रिय स्वाधिनता र बिकासका लागि धेरै काम गरेको जिकिर गर्नुभयो ।