काठमाडौं : निर्वाचन आयोगले मनाङ ‘ख’ का प्रदेशसभा उम्मेदवार दीपक मनाङे (राजीव गुरुङ) लाई स्पष्टीकरण सोधेको छ । उनले निर्वाचन खर्चको विषयमा गरेको टिप्पणीलाई लिएर आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
मनाङेले ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ‘‘३० लाखमा नेपालमा चुनाव जित्छ यार‘‘मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ’ भनेको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले स्पष्टीकरण सोधेको आयोगले बताएको छ ।
गुरुङले उम्मेदवारी दिएको मनाङ प्रदेश सभा क्षेत्र नं. ‘ख’ को लागि तोकेको खर्चको सीमा २३ लाख रुपैयाँ रहेको छ । आयोगले मनाङेको अभिव्यक्ति प्रचलित निर्वाचन सम्बन्धी कानून र निर्वाचन आचारसंहिताको प्रतिकूल देखिएको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेको हो ।