काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता विद्या भण्डारीले पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य तथा प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताएकी छन्।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै भण्डारीले एमाले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढिरहेको पार्टी भएको बताइन्।
एमाले मुलुकमा लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमसत्ताको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको प्रमुख राजनीतिक दल भएको उनको भनाइ छ।
उनले पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही जानकारी प्रवाह हुनुपर्ने र तिनको वस्तुनिष्ठ मूल्याङ्कन गरिनुपर्ने बताइन्। पार्टीविरुद्ध फैलाइएका गलत सूचना र अफवाहको तथ्य तथा प्रमाणका आधारमा खण्डन गर्नुपर्नेमा उनले जोड दिइन्।
त्यस्तै, महिला र युवालाई नेतृत्वमा अघि बढ्ने अवसर तथा उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने भण्डारीले बताइन्।
प्रवासमा रहेका नेपाली श्रमिक, विद्यार्थी, व्यवसायी, महिला, युवा तथा विभिन्न पेसामा संलग्न व्यक्तिका समस्या र सरोकार फरक–फरक हुने उल्लेख गर्दै उनले सबैलाई समेटेर सङ्गठनका गतिविधि अघि बढाउनुपर्ने धारणा राखिन्।
स्वदेशी निजी क्षेत्रसँग सहकार्य गर्दै उद्योग स्थापना, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्नुपर्नेमा समेत उनले जोड दिइन्। सरकारले लगानीमैत्री वातावरण निर्माण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्न आवश्यक रहेको उनको भनाइ छ।










