बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौर नजिकै डाँडाइजरस्थित सुडेधार खोलामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका गोपाल धामी र पवित्रा धामी रहेका छन्। स्थानीय दलबहादुर धामीका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।
स्थानीयका अनुसार से ००१ च ४३७६ नम्बरको जीप ब्रेक फेल भएर बिहान दुर्घटनामा परेको हो। काँडाचौरका १५ जना स्थानीय बासिन्दालाई बोकेर बागथलातर्फ आउँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको बताइएको छ।
जीपका चालक बुङ्गल नगरपालिका–२ गिरौँका मोहन धामी रहेको बताइएको छ। उक्त जीप केदारस्युँ गाउँपालिका–७ का वडाध्यक्ष चन्द्र धामीको रहेको स्थानीयले बताएका छन्।
दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्। उनीहरूको उद्धार तथा उपचारबारे थप विवरण आउन बाँकी छ। जीपमा सवार अन्य सात जनाको अवस्था भने सामान्य रहेको स्थानीयले बताएका छन्।










