सिद्धार्थनगरका मेयर आचारसंहिता विपरीत उम्मेदवारसँगै घरदैलोमा

न्युज कारखाना
  • ख-
  • ख+

भैरहवा, ९ कात्तिक।।सिद्धार्थनगर नगरपालिका मेयर इस्तियाक अहमद खान निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारसँगै घरदैलोमा निस्केका छन् ।

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ३ को ५ (क) को खण्ड ४  मा स्थानीय कार्यपलिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा सम्बन्धित राजनितिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन पाइँदैन ।

तर, मेयर खान रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उम्मेदवार बालकृष्ण खाँण र लोसपाका सन्तोस पाण्डेसँगै घरदैलोमा हिँडेका छन् ।

सिद्धार्थनगरकै वडा नम्बर १२, ५, ६ मा मेयर सहित वडा नम्बर ५ र ६ का वडाध्यक्ष पनि ती दुई उम्मेदवारको पक्षमा भोट माग्दै घरदैलोमा सहभागी भइरहेका छन् ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय कार्यपलिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण भन्दै आचारसंहिताको परिच्छेद ३ मा पहिलो नम्बर मै कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने भनिएको छ ।

निर्वाचन आचारसंहिता अनुगमन समिति रुपन्देहीका संयोजक विष्णुप्रसाद ज्ञवालीले आचारसंहिता उल्लघन गर्नेलाई स्पष्टीकरण सोध्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्