काठमाडौं : आज लक्ष्मीपूजा । घर घरमा धनधान्यको प्रतीक मानिने लक्ष्मीको पूजा गरेर मनाइदै छ । घर, कार्यालयमा रंगोली पनि बनाईएको छ ।
बेलुकी झिलिमिली बनाउन अधिकांश घरमा फूल बत्ती सजाइँदैछ । नेपाल विद्युत प्राधिकरणले भने उज्यालोको पर्व भएकाले आज कुनै पनि क्षेत्रमा पनि बत्ती नजाने गरि व्यवस्था मिलाउन निर्देशन दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण विभाग प्रमुख मनोज सिलवाल सहितको टोलीले आज दिउँसो काठमाडौंका विभिन्न सबस्टेसन र वितरण केन्द्र पुगेर बिजुलीको विश्वसनीय आपूर्तिको व्यवस्थाका लागि गरिएका कामको निरीक्षण गरेको थियो ।
प्राधिकरणले जतिसक्दो बढी विद्युत् खपत गर्न आग्रह गरेको छ । आन्तरिक रुपमा नै उत्पादन भएको बिजुली आज लक्ष्मीपूजाकै दिन पनि ४ सय मेगावाट भारत निर्यात गर्नुपरेको भन्दै कार्यकारी निर्देशक घिसिङले अझ करिब ५ सय मेगावाट बिजुली खेर जाने अवस्था रहेको बताउनुभयो ।