भाेलि बाट सुरु हुने कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ फागुन ।  नेपाली कांग्रेसले सोमबारबाट सुरु हुने महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

कांग्रेस सूचना, संचार तथा प्रभार बिभागले आइतबार महासमिति बैठक स्थल ललितपुरको गोदावरीमा पत्रकार सम्मेलन गर्दै बैठकका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । महासमिति बैठकको मुख्य कार्य पार्टीको नीति निर्माण गर्नु रहेको कांग्रेसले जनाएको छ ।

महासमितिको सोमबार दिउँसो पार्टी सभापतिले उद्घाटन गर्ने कार्यक्रम रहको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा प्रतिवेदन पेश गर्ने उहाले बताउनुभयो ।

त्यस्तै लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्ने विश्वकर्माले जानकारी दिनुभयो । बैठकमा १६५ केन्द्रीय सदस्य, हरेक निर्वाचन क्षेत्रबाट एक हजार ७८०, जनसम्पर्क समितिबाट ८९, भ्रातृसंस्था तथा शुभेच्छुक संस्थाबाट ६९, महासमिति सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला सभापति र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्ष महासमिति बैठकमा सहभागी हुने प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनुभयो ।

बैठकका लागि करिव दुई करोडसम्म खर्च हुने अनुमान गरिएको उहाले बताउनुभयो । राजनीतिक स्थायीत्व, रुपान्तरण र नविनता, स्वतन्त्रता न्याय र समानता भन्ने मूल नाराका साथ सोमबाट सुरु हुने महासमिति बैठक फागुन १० गतेसम्म चल्ने कांग्रेसले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्