काठमाडौं, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताउनुभएको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रूम’बाट सिक्टा सिँचाइ आयोजना र महाकाली सिँचाइ आयोजना (तेस्रो चरण) को अनुगमन गर्दै प्रधानमन्त्री राष्ट्रिय गौरवका आयोजनालाई बजेट अभाव हुन नदिने र समयमा नै सम्पन्न गर्नेमा ध्यान केन्द्रीत गर्ने बताउनुभएको हो ।
बजेटको ठीक ढङ्गले प्राथमिकीकरण हुन नसक्दा राष्ट्रिय गौरवका आयोजना र अन्य महत्त्वपूर्ण आयोजना नराम्रोसँग प्रभावित हुने गरेको उहाले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले नीतिगत समस्या र बजेटको अभावलाई सरकारले सम्बोधन गर्ने बताउँदै आयोजनास्थलमा परिणाममुखी काम गर्न आयोजना प्रमुखलाई निर्देशित गर्नुभयो ।
सो क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अर्थतन्त्रमा सुधार आएकाले निर्माण व्यवसायीको भुक्तानीमा सहजता आएको जनाउँदै अब आयोजनाको भौतिक एवं वित्तीय प्रगतिले गति लिने बताउनुभयो । अनुगमनका क्रममा सिक्टा सिँचाइ आयोजनाका प्रमुख देवराज निरौलाले वित्तीय स्रोतको सङ्कुचनका कारण आयोजनाको प्रगति उत्साहवद्र्धक नभएको भन्दै स्रोतको अभाव नभए आयोजनाले गति लिने बताउनुभयो ।
बाँके जिल्लाको सिँचाइलाई लक्षित गरी अगाडि सारिएको आयोजनाले ४२ हजार ७६६ हेक्टर जमिन सिँचाइ हुने जनाउँदै आयोजना प्रमुख निरौलाले आयोजनाको वित्तीय प्रगति ४० प्रतिशत रहेको र मुआब्जाका निम्ति स्रोतको व्यवस्था आवश्यक रहेको बताउनुभयो ।











