काठमाडौं,माघ ६ । सरकारले कोरोना भाइरसविरुद्ध प्रयोग गर्न ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ ।
चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप विसर्जनको तयारी भइरहेको जानकारी दिनुभयो ।
प्रवक्ता डा. बुढाथोकीका अनुसार खोपलाई धेरै तापक्रममा वा इँटाभट्टामा राखेर जलाउने भन्नेमा छलफल भइरहेको छ । बुस्टर डोजका लागि प्रयोग हुन नमिल्ने भएपछि विगत साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा खोप थन्किएका उनको भनाइ थियो ।
विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले बुस्टर डोजका लागि प्रयोग गर्न नभनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले उक्त खोप नलगाउने निर्णय गरेको थियो । उक्त खोप चीन सरकारबाट अनुदानमा २०७८ वैशाख १२ गते ३४ लाख ४३ हजार तीन सय ६० मात्रा र वैशाख १४ गते पाँच लाख ५६ हजार ६ सय ४० मात्रा खोप नेपाल आएको थियो ।
बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने तथा पहिलो र दोस्रो मात्रा खोप लगाउने मानिस नभएपछि खोपको प्रयोग नभएको बताए ।
बुस्टर डोजका लागि साइनोभ्याकको सट्टा फाइजर खोप प्रयोग गरिएको थियो ।









