काठमाडौं, २४ पुस । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ ।
नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरसँग सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ ।
भेटका क्रममा सभामुख घिमिरेले सन् १९९९ अगस्त १९ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात नेपाल र आयरल्याण्डबीच मैत्रिपूर्ण एवम् सौहार्द्रपूर्ण सम्बन्ध रहिआएकोमा खुशी व्यक्त गरे ।
संसदीय लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्रता आफूहरुको साझा प्रतिबद्धताहरु रहेका बताउँदै उनले आयरल्यान्डको संसदमा आयरल्याण्ड–नेपाल संसदीय मैत्री समूह गठन भएकोमा खुशी लागेको बताए ।
‘हालै नेपालमा पनि नेपाल–आयरल्याण्ड संसदीय मैत्री समूह गठन भएको छ। संसदीय मैत्री समूहको गठन भएबाट आगामी दिनहरूमा दुई देशबीच संसदीय प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गर्न सहज हुने र यसबाट दुई देशबीचको संसदीय सम्बन्ध अझ मजबुत हुने विश्वास गरिएको छ,’ सभामुख घिमिरेले भने, ‘दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन हाम्रो संसद र सांसदहरुको महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने मेरो बुझाई छ। संसदीय प्रतिनिधिमण्डलको आदान–प्रदानबाट एक अर्काको संसदीय अभ्यास र अनुभव बुझ्ने अवसर उपलब्ध हुने र यसबाट संसदीय लोकतन्त्रलाई सुदृढ बनाउँदै हाम्रा नागरिकको अधिकार सुनिश्चित गर्न सघाउ पुग्ने कुरामा म विश्वस्त छु ।’
भेटका क्रममा सभामुख घिमिरेले भने, ‘गत वर्षको मेरो आयरल्याण्ड भ्रमणका दौरान दुई देशबीच संसदीय आदानप्रदान घनीभूत बनाउने एवम् संसदीय सम्बन्धलाई थप सुदृढ बनाउने बारे छलफल भएको थियो।
त्यति मात्र नभई आयरल्याण्डका महामहिम राष्ट्रपति तथा महामहिम मन्त्रीज्यूहरू लगायतका विशिष्ट व्यक्तित्वहरूसँगको भेटघाटमा नेपाल–आयरल्याण्ड सम्बन्धका विभिन्न पक्षहरुमा छलफल भएको थियो। ती छलफलका निश्कर्षहरूलाई मूर्त रूप दिनेतर्फ हाम्रा प्रयासहरू अघि बढ्नुपर्ने मेरो धारणा रहेको छ ।
न्युज कारखाना










