काठमाडौं, १८ पुस । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा आफुहरुलाई शुन्य नबनाउन आग्रह गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमालेको प्रस्तावका बारेमा जानकारी गराउदै राष्ट्रियसभा निर्वाचनमा आफुहरुलाई शुन्य नवनाउन आग्रह गरेको जानकारी गराउनुभएको हो ।
बैठकपछि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेको प्रस्ताव बुझेर गठबन्धन दलबीच थप छलफल हुने जानकारी दिनुभयो । उहाले यस बिषयमा माओवादी र कांग्रेसबीच पनि छलफल भएको र एमालेसंगको सहकार्य ससर्त हुने जिकिर गर्नुभयो ।
पुष २३ गते उम्मेद्वारी दिनका लागि २० सिट मध्ये एमालेको ९ सिटको व्यवस्थापनमा गठबन्धनको बैठक केन्द्रीत भएको उहाले बताउनुभयो । उहाले गठबन्धनको बैठक बिहीबार बिहान पुन बस्ने र थप छलफल गर्ने जानकारी दिनुभयो ।
त्यस्तै बैठकमा भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा पञ्चेश्वर लगाएतका सम्झौतालाई राष्ट्रहितमा ल्याउने बिषयमा छलफल भएको पाण्डे बताउनुभयाे ।










