बालकुमारीमा भएकाे घटना गणतन्त्रविरुद्धको ‘डिजाइन’ हुन सक्छः प्रधानमन्त्री प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारीमा दुई जना युवाको ज्यान गएकाे र मन्त्रीको गाडी जलाइएको प्रकरण लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन भएको दाबी गर्नुभएकाे छ ।

आज सोमवार नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइनको रूपमा भएको आफूले अनुमान गरेको बताउनुभएको हो । उहाँले आफूले सम्बन्धित निकायसँग घटनाबारे ‘ब्रिफिङ’ लिँदा सामान्य नलागेको बताउनुभयो ।

प्रधानमन्त्रीले मृतकका परिवारलाई रोजगारी दिने र शहीद घोषणा गर्ने कुरा राजनीतिक तहमा छलफल भइरहेको पनि बताउनुभयो । उहाँले नागरिकलाई निराशा बाँडिएको भन्दै देशमा अँध्यारोबाहेक केही नदेखाउनेहरू राष्ट्रवादी हुन नसक्ने उल्लेख गर्नुभयाे ।

प्रचण्डले सरकारले गरेका राम्रा कामहरूको प्रशंसा गर्न नहिचकिचाउन सत्तारूढ दल नेपाली कांग्रेसका नेता, कार्यकर्तालाई अपिल गर्नुभयो । उहाँले तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूका बीचमा शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने सहमति भएको पनि बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्