पशुपतिमा बालाचर्तुदशी पर्वका लागि यसरी गरिएको छ तयारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २३ । पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको कोषले जनाएको हो । आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट शतबीज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढङ्गले कार्यसम्पन्न गर्नेसम्मको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषका संस्कृति महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिनुभयो ।

उहाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर बनाई संयुक्त सुरक्षा योजनाअनुसार भक्तजनको सुरक्षाका लागि शतबीजमार्ग र बत्ती बाली बस्ने स्थानमा पर्याप्त सुरक्षाकर्मी खटाइने भएको बताउनुभयो ।

कोषले आउँदो सोमबार शतबीज छर्दा बिभिन्न नियम पालना गर्न भक्तजनलाई अनुरोध गरेको छ । कोषले ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको संरक्षण गर्न तथा बालबालिकाको साथमा परिचयपत्र राख्न आग्रह गरिएको छ । कोषले कैलाश चौरमा पाल राखी बत्ती बाल्न नपाइने तर शतबीज भने छर्न पाइने जनाएको छ ।

बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोरक्षेत्र, हंशमण्डप, चौरसहित वाग्मती नदीको खाली किनारामा व्यवस्था गरिएको कोषले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्