काठमाडौं , असोज २३
नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधि सभा सदस्यमा भक्तपुर क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
मध्यपुर थिमिको शंखधर चोकमा भेला भई नयाँ थिमिबाट पुरानो थिमि हुँदै मध्यपुर थिमिको बोडेस्थित कृषि विकास तालिम केन्द्रस्थित क्षेत्र नं २ निर्वाचन कार्यालयमा दलबलसहित पुगेर बस्नेतले उम्मेदबारी दर्ता गराउनुभएको हो । निर्वाचन आचारसंहिता अनुसार बाजागाजा लिएर उम्मेदवारी दर्ता गर्न नपाउने भएपछि झाँक्रि लिएर उम्मेदवार दर्ता गराउन पुग्नुभएको हो ।
उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बस्नेतले राष्ट्रिय राजनीतिमा नेकपा एमाले आएपछि मात्रै भक्तपुरको आवाज संसदमा मुखरित भएको दाबी गर्नुभयो । उहाँले आगामी निर्वाचनमा विजयी बनेसँगै भक्तपुरमा औद्योगिकरणका साथै नयाँ शहर निर्माणको काम गर्ने र रोजगारी सिर्जना गर्ने काम आफ्नो लक्ष्य रहेको बताउनुभयो ।
उहाँले सत्ता गठबन्धन जनताको बीचमा अलोकप्रिय र आलोचित भएको भन्दै आफू तेब्बर मतान्तरका साथ विजयी हुने जिकिर गर्नुभयो ।
निर्वाचन आचारसंहिता अनुसार २५ जना भन्दा बढी भेला हुन नपाइने भएपनि बस्नेत सयौं कार्यकर्ताका बीच उम्मेदवारी दर्ता गर्न पुग्नुभएको थियो । उम्मेदवारी दर्ताका क्रममा सहभागीहरुले महेश बस्नेत जिन्दावाद, नेकपा एमाले जिन्दावादलगायतका नारा घन्काएका थिए। त्यस्तै सोही क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेसका जिल्ला पार्टी सभापति दुर्लभ थापाले उम्मेदवारी दिनुभएको छ ।