काठमाडौं, १४ मंसिर । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई विना सर्त रिहा गर्न अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय गरेको छ ।
आज बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिले विपिन जोशीलाई विना सर्त रिहा गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकपछि निर्णय सुनाउँदै समिति सभापति राजकिशोर यादवले विपिनको विना सर्त अविलम्ब रिहाइका लागि हमासलगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय भएको बताउनुभयो । उहाँले नेपाल कुनै पनि पक्षधरता देश नरहेको र जहिले पनि शान्तिको वकालत गर्ने भएकाले नेपालीलाई कुनै पनि कारणविना बन्धक बनाइन नहुने बताउनुभयो ।











