सरकारले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार निर्वाचनको मिति तोकेको सरकारका प्रवक्ता समेत रहनुभएकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिुनयभो ।
नेपालको संविधानको धारा ८६ को उपधारा ३ बमोजिम राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदैछ । राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ ।
यस्तै सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । आवश्यकताअनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गर्ने निर्णय भएको प्रवक्ता शमाले बताउनुभयो । भूकम्प पीडितको अस्थायी आवास निर्माणमा समस्या भएको गुनासो आएकाले प्रभावितलाई सुरक्षित अस्थायी आवास उपलब्ध गराउन जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा सुरक्षाकर्मी परिचालन गरिने पनि उहाँले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्ने गरी पौडेललाई अध्यक्षमा नियुक्त गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । यस्तै नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त रहेको सचिवमा श्वेता दवाडीलाई बढुवा गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।











