काठमाडौं, ८ मंसिर । माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले सरकारका नाममा कारण देखाऊआदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत मंसिर ५ गते एक सूचना जारी गर्दै माइतीघर मण्डला लगायतका संवेदनशील क्षेत्रमा ३० दिनका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो ।
सो आदेशविरुद्ध अधिवक्ता भद्रप्रसाद नेपाल लगायतले दायर गरेको रिटमा सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकको हक कुण्ठित हुने गरी माइतीघर मण्डलामा निषेधित क्षेत्र घोषणा गर्नु गलत रहेको भन्दै अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।











