भूकम्प प्रभावित क्षेत्रमा भोलिदेखि राहत र पुनर्स्थापनाको काम हुन्छः प्रधानमन्त्री प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिदेखि राहत र पुनर्स्थापनाको काम सुरू गरिने बताएका छन्।

जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रको अनुगमन गरेर फर्किने क्रममा नेपालगञ्ज विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आज उद्धार र उपचारमा नै ध्यान केन्द्रित गरिएको बताए।

कर्णालीका भूकम्प प्रभावितहरूलाई दिने राहत र गर्ने पुनर्स्थापनाबारे छलफल गर्न प्रधानमन्त्रीले भोलि बिहान ८ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। त्यसपछि विपत व्यवस्थापन समितिको बैठक बस्ने र आवश्यक निर्णय गर्ने उनले बताए।

प्रधानमन्त्री प्रचण्डले नेपाललाई चाहिने सहयोग गर्ने भनेर छिमेकी मुलुकहरूबाट पनि फोन आएको र आफूले मन्त्रिपरिषद् बैठकमा निर्णय गरेर आवश्यक सहयोगबारे बताउने जानकारी गराएको बताए।

रूकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेर प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्किएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्