गाली गर्ने चौतारी जस्तै बन्यो बेलगाम सामाजिक सञ्जाल: सदुपयोग कम, दुरुपयोग बढी

खबर बुक
  • ख-
  • ख+

पछिल्ला केही दिनदेखि पश्चिम नेपालको व्यापारिक सहर नेपालगन्ज अशान्त छ ।
प्रशासनले कफ्र्य लगाएर स्थिति नियन्त्रणमा लिनुअघि नेपालगन्जमा तनाव बढेको थियो । नेपालगन्जमा तनाव उत्पन्न गराउने प्रमुख कारण थियो एउटा सामान्य व्यक्तिको फेसबुक स्ट्याटस र त्यसमा गरिएको कमेन्ट । सामाजिक सञ्जालबाट रोपिएको विवादको बिउ नेपालगन्जका चोक र सडकसम्म देखियो ।
बाँके नरैनापुरका ती युवकले फेसबुकमा इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदको नाम जोडेर विवादास्पद स्ट्याटस लेखेका थिए । ती युवकको स्ट्याटस मुस्लिम समुदायमा बिस्तारै फैलियो । ‘मुस्लिम डे’ कै दिन स्ट्याटस लेखिएकाले मुस्लिम समुदायले आपत्ति जनाए । आफ्नो धर्मका प्रतीक पैगम्बर मोहम्मदप्रति गरिएको टिप्पणीलाई लिएर उनीहरू आक्रोशित बने । १४ असोजमा मुस्लिम युवाहरूले यसैको विरोधमा प्रदर्शन गरे ।
उनीहरूले नेपालगन्जको बिपी चोक क्षेत्रमा टायर बाल्नेदेखि उग्र नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय भित्र पुगेर झन्डा समेत गाडे । त्यसपछि विवाद बढ्दै गयो । त्यसको भोलिपल्ट सद्‍भाव ‍र्‍याली  निकालियो । सबैले सद्‍भाव ‍र्‍याली निकाल्ने तयारी गरिरहँदा हिन्दुवादी धार्मिक संस्था ओमकार परिवारले प्रदर्शन गर्‍यो । त्यसपछि स्थिति तनावपूर्ण हुने देखिएपछि प्रशासनले अनिश्चित कालीन कर्फ्यु लगाएको छ । कर्फ्युपछि भने नेपालगन्ज शान्त बन्दै गएको छ ।
सामाजिक सञ्जालकै कारणसमुदायबीच विवाद बढेको यो पहिलो घटना होइन । यसअघि धरानमा पनि यस्तै प्रकृतिको घटना भएको थियो । धरानमा गोरु काटेर खाएको भन्दै सामाजिक सञ्जालमा ‘भिडियो भाइरल’ बनाइएपछि तनाव बढेको थियो ।
धरानमै मन्दिरअगाडि चर्च बनाइएको विषय पनि निकै उचालिएको थियो । तर, सबैको संयमताले कुनै अप्रिय घटना हुन पाएन । यी र यस्तै घटना देशका विभिन्न ठाउँमा भइरहेका छन् । खासमा सामाजिक सञ्जाल असामाजिक बन्दै गएको छ । सदुपयोगभन्दा दुरुपयोग गर्ने क्रम बढेको छ ।
सदुपयोग कम, दुरुपयोग बढी
प्रविधिको विकाससँगै संसार सानो बनेको छ । सामाजिक सञ्जालको विकासले संसार मानिसको मुठ्ठीमा छ । विश्वको हरेक कुनाका खबर क्षणभरमै थाहा हुन्छ । हरेक सूचना सकेण्डमै आदान–प्रदान हुन्छ । अझै सामाजिक सञ्जालको विकासले त झन् यसलाई थप सहज बनाइदिएको छ । सामाजिक सञ्जालका अनेक प्लेटफर्महरू छन् । संसार यिनकै वरिपरि घुमिरहेको छ । विज्ञानको यो उपलब्धिले मानिसहरूलाई साह्रै सहज बनाइदिएको छ ।
सूचना प्रवाह र मनोरञ्जनका लागि फेसबुक, ट्विटर, टिकटक, इन्स्ट्राग्राम, युट्युब आदि दर्जनौँ प्लेटफर्म छन् । तर, सामाजिक सञ्जालको सही प्रयोग नहुँदा मान्छे असामाजिक बन्दै गएको छ ।
सामाजिक सञ्जालको दुरुपयोग गरेर गलत सूचना फैलाउनेदेखि ठगी र आपराधिक घटनाहरू समेत भइरहेका छन् । यो समस्या विश्वव्यापी रूपमै देखिएको छ । विकसित देशभन्दा अविकसित देशहरूमा सामाजिक सञ्जालको दुरुपयोग तुलनात्मक रूपमा बढी छ । नेपालमा पनि पछिल्लो समय सामाजिक सञ्जाल नियन्त्रण बाहिर जान थालेको देखिन्छ । यसले समाज, परिवार र मुलुकमा नै असहिष्णुताको विष फैलाउन थालेको छ । समाज विखण्डनतर्फ उन्मुख हुँदै गएको भान हुन्छ । मिलेर बसेको नेपाली समाजलाई खलल पार्ने खालका गतिविधि सामाजिक सञ्जालमार्फत हुन थालेका छन् ।
बेलगाम सामाजिक सञ्जाल
सामाजिक सञ्जाल बेलगाम छ । जसले जे गरे पनि हुन्छ, जे लेखे पनि हुन्छ भन्ने मनोविज्ञान हाबी भएको देखिन्छ । अहिले सामाजिक सञ्जालमा बोलिने भाषा र शैली एकदमै अस्वाभाविक छ । सबैले पढ्न र हेर्न सकिने खालको छैन । बोलीचालीमा उच्चारण गर्नै नसकिने भाषा हामी सहजै लेखिरहेका छौँ, सामाजिक सञ्जालमा । यो डरलाग्दो सङ्केत हो ।
मान्छेहरूले सामाजिक सञ्जालमा लेख्न र कमेन्ट गर्न निकै हतार हुने गरेको देखिन्छ । खास गरी नेपालमा अहिले सामाजिक सञ्जाल गाली गर्ने चौतारीजस्तो भइरहेको छ । गालीगलौज र नेगेटिभ कमेन्ट्समा रमाउने जमात बढिरहेको छ । सामाजिक सञ्जालमा मान्छेका सकारात्मक पाटो कम प्राथमिकतामा परेजस्तो लाग्छ ।
आपराधिक क्रियाकलाप बढ्न थाले
सामाजिक सञ्जाल खराब नै हो भन्नु गलत हुन्छ किनकि यसका अनेक लाभदायी पक्षहरू पनि छन् । आजको समय प्रविधिको समय हो । प्रविधि विना मानिसहरूको जीवनको कल्पना गर्न सायदै सकिन्छ होला । प्रविधिकै एउटा उपज हो सामाजिक सञ्जाल ।
सामाजिक सञ्जालको पहुँच नहुँदा मानिसहरू भौतिकरुपमा टाढा रहेका मानिसहरूसँग कुरा गर्न घण्टौँ समय हिँडेर टेलिफोनको सुविधा भएको ठाउँमा पुग्दथे । तर पछिल्लो समय एउटै घरका दुई वटा कोठामा रहेका दुई व्यक्तिहरूबिच पनि विभिन्न सामाजिक सञ्जालमार्फत कुराकानी हुने गर्दछ । जसले मानिसलाई सहजता ल्याएको छ भने यसको दुरुपयोग पनि बढिरहेको छ ।
सामाजिक सञ्जालको प्रयोगबाट अपरिचित मानिसहरूलाई साथी बनाएर जीवनसाथीसम्म बनाएका छन् । तर कतिपय कुरामा सामाजिक सञ्जाल घातक पक्ष बन्न पुगेको छ । विशेष गरी युवापुस्ता र गृहिणी महिलाहरूले सामाजिक सञ्जालको सदुपयोग गर्न नसक्दा समस्यामा पर्ने गरेको छ ।
विभिन्न सोसियल नेटवर्किङ साइटहरूले सर्वसुलभ उपलब्धताले आफन्त, साथीभाइलाई एक अर्काबिच सम्पर्कमा रहन सुविधा त पु¥याएको छ तर दुरुपयोग गरी त्यसबाट विभिन्न दुर्घटनाहरू पनि हुने गरेका छन् ।
जसले गर्दा विभिन्न आपराधिक क्रियाकलाप, यौनजन्य क्रियाकलाप, ठगीका घटना बढ्न थालेका छन् । साथै सामाजिक सञ्जालको दुरुपयोगले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा यौन व्यवसायलाई सहज बनाउन पनि मुख्य भूमिका खेलेको कतिपय घटनाले देखाउँछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्