काठमाडौं, असोज १५
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको दावी गर्नुभएको छ ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको दावी गर्नुभएको हो । उहाले निर्वाचन लड्ने आँट एमाले मात्र गर्ने र एमाले म्याराथन दौडिने पार्टी भएको जिकिर गर्नुभयो । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा केही सिटमा अरू विचार मिल्ने पार्टीसँग सहमति कायम हुने सक्ने उहाले बताउनुभयो । उहाले निर्वाचनको घोषणा भईसकेपछि अहिलेको सरकार कामचलाउ भईसकेकाले दिर्घकालीन महत्वको निर्णय नगर्न चेतावनी दिनुभयो ।
अध्यक्ष ओलीले एमालेले अहिलेसम्म आसन्न निर्वाचनका लागि उमेदवारको अन्तिम छनोट नगरेकाले बाहिर आएका विभिन्न थरीका हल्लामा कुनै सत्यता नभएको प्रस्ट पार्नुभयो ।











