काठमाडौं, २४ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणको छानबिन गरी दोषिउपर कारबाही हुने बताउनुभएको छ ।
इजिप्टको राजधानी कयरोमा सम्पन्न भएको जनसंख्या, स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आईतबार काठमाडौं आइपुग्नुभएका मन्त्री बस्नेतले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाले केही दिन अघि कान्ति बाल अस्पतालमा पाँच वर्षीया रेजिशा गोपालीको इमर्जेन्सीमा उपचार नपाएर मृत्यु भएको खबर सञ्चारमाध्यमहरुमा आएको थियो ।
उहाँले आफू विदेशमा भएको बेलामा पनि सो घटनालाई चासोका साथ हेरेको र स्वास्थ्य सचिवलाई फोन गरेर घटनाबारेमा बुझेको बताउनुभयो । उहाँले यस घटनाको छानबिन गर्न छानबिन समिति गठन भएको र गल्ती गर्नेहरुलाई कारबाही गरिने स्पष्ट पार्नुभयो ।
मन्त्री बस्नेतले इजिप्टमा भएको कार्यक्रममा बसाइँसराई र अव्यवस्थित बसोबासका दृष्टिले स्वास्थ्य क्षेत्रमा परेका समस्याहरुको बारेमा छलफल भएको बताउनुभयो । त्यसैगरी आधारभुत स्वास्थ्य सेवा दिने कुरालाई व्यवस्थित गर्ने रणनीतिको सम्बन्धमा पनि छलफल भएको उहाँले बताउनुभयो ।
यस्तै, जनसंख्या र स्वास्थ्य सेवालाई सँगसँगै लिएर जान सकिएन भने विकास पनि सम्भव छैन भन्ने विषयमा छलफल भएको मन्त्री बस्नेतको भनाई छ । कार्यक्रममा विभिन्न देशका स्वास्थ्य मन्त्री तथा विभिन्न दातृ संस्था र निकायहरुका प्रतिनिधिहरु सम्मिलित रहेको उहाँले जानकारी दिनुभयो ।










