काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले परिवर्तनका लागि जनादेश पाएको सरकारमा कोही पनि एक्लो नभएको बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भनी पोस्ट गरेपछि सांसद झाले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक सो कुरा बनाएका हुन्।
यसअघि प्रधानमन्त्री शाहले सही समय आउन केही समय लाग्ने उल्लेख गर्दै नआत्तिन आग्रह गरेका थिए। सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुन सक्ने भन्दै उनले कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलो पटक नभएको अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्रीको उक्त पोस्टको सन्दर्भमा सांसद झाले परिवर्तनको लागि महान् जनादेश पाएको सरकारमा कोही एक्लो नभएको र आफूहरू सबै साथमा रहेको स्पष्ट पारे। हिजो सदनमा भनेझैँ सरकारको नियत र आशयमा शङ्का नरहे पनि सुधार गर्नै पर्ने केही पक्षहरू रहेको उनले उल्लेख गरे।
यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहने झाले बताए। जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्ने र आफू सरकारको साथमा रहेको दोहोर्याउँदै उनले यहाँ कोही पनि एक्लो नरहेको धारणा व्यक्त गरे।









