प्रधानमन्त्री प्रचण्डले असोज ४ गते महासभालाई सम्बोधन गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ भदाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असोज ४ गते संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्ने तय भएको छ ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल ३० भदौमा अमेरिका जानुहुनेछ ।

नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री एनपी साउद, प्रधानमन्त्रीका राजनीति सल्लाहकार हरिबोल गजुरेल, मुख्य सचिव बैकुण्ठ अर्याल, परराष्ट्र सचिवलगायत अधिकारीहरू सहभागी हुनुहुनेछ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्डले दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुने तय भएको छ । प्रधानमन्त्री दाहालले ४ असोजमा राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्नुहुनेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन आएका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री दाहाल सहभागी हुनुहुनेछ ।

महासभा चलिरहँदा प्रधानमन्त्री दाहालले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग साइडलाइन भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्री दाहाल ५ असोजमा न्यूयोर्कबाट चीन भ्रमणमा जाने तयारी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्