काठमाडौं, ७ साउन ।सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा इटहरी– १६ का २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी र २६ वर्षीय करण चौधरी रहेको सुनसरी प्रहरीले जनाएको छ। तीनै जनाको बिपी स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो। शम्भु र करणको गएराति १२ बजेर ३० मिनेटमा निधन भएको हाे भने अनिनासको उपचारका क्रममा आज बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका प्रेमलाल चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मोटरसाइकलमा चार जना सवार थिए। दुर्घटनामा परी चारै जना गम्भीर घाइते भएका थिए।
शुक्रबार राति १०:४० बजे इटहरी नगरपालिका-१७ कान्छी चोकमा चारजना चढेको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ नम्बरको पिकअप भ्यानसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो।











