ओलीको आग्रह : प्रश्न गर्नुअघि अनुमति लिनुहोस्, माइक अगाडि ल्याएर जबर्जस्ती प्रतिक्रिया नलिनुहोस्

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ४ असोज । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारकर्मीले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र स्थापित अभ्यासलाई ध्यान दिनुपर्ने बताएका छन् ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले आफूलाई प्रश्न गर्नुअघि अनुमति लिनुपर्ने बताएका हुन् ।

प्रश्न सोध्ने क्रममा माइक अगाडि ल्याएर जबर्जस्ती प्रतिक्रिया लिन खोज्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै ओलीले यस्तो शैली अपनाउन नहुने बताए ।

ओलीले अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यास भन्दै प्रश्न सोध्नुअघि सम्बन्धित व्यक्तिसँग प्रश्न गर्न मिल्ने–नमिल्नेबारे अनुमति लिने तथा कुराकानी वा भनाइ प्रकाशित गर्नुअघि समेत सम्बन्धित व्यक्तिलाई जानकारी गराउने अभ्यास रहेको दाबी गरे ।

उनले सञ्चारकर्मीलाई आफूले प्रश्न गर्न नचाहेको अवस्थामा समेत माइक अगाडि ल्याएर प्रतिक्रिया लिन खोज्ने शैलीप्रति असन्तुष्टि जनाउँदै भने, “तपाईँहरू ल्याएर थुतुनो घोचेर, मुखमा घोचेर त्यस्तो नगर्नुहोस्।”

ओलीले सञ्चारकर्मीले प्रश्न गर्दा सम्बन्धित व्यक्तिको सहमति र पत्रकारिताको मर्यादालाई ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्