चितवन राष्ट्रिय निकुञ्जको ‘रोनाल्डो’ हात्ती करेन्ट लागेर मरेको पुष्टि

खबर बुक
  • ख-
  • ख+

३, असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जको जंगलमा भेटिने चर्चित जंगली भाले हात्ती रोनाल्डो करेन्ट लागेर मरेको पुष्टि भएको छ । आज बिहान बिसहजारी ताल नजिकै रहेको कुमाल तालको छेउमा मृत अवस्थामा भेटिएको रोनाल्डोलाई करेन्ट लागेको हो ।

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको ब्यारेकमा लगेको विद्युत्को तारबाट करेन्ट लाग्दा रोनाल्डोको घटनास्थलमा नै मृत्यु भएको थियो । सेनाले बिसहजारी तालको गेटतिरबाट विद्युत् लगेको थियो ।

स्रोतका अनुसार, झण्डै १५१६ फिट अग्लो ठाँउमा रहेको तारसँगै रहेको घाँसलाई खानका लागि रोनाल्डोले तान्दा घाँससँगै तारसमेत झरेको थियो । बाहिर इन्सुलेसन गरेको तार रोनाल्डोले चपाउँदा त्यसमा प्रवाह भएको करेन्ट उसको मुख तथा जिब्रोमा लागेको थियो ।

रोनाल्डोको मुखको भाग तथा जिब्रोको केही भाग डढेको जस्तो अवस्थामा रहेको छ । यसबारेमा निकुञ्जले कुनै आधिकारिक जानकारी दिएको छैन । रोनाल्डोको मृत शरिरलाई पोष्टमार्टम पछि खाल्डो खनेर गाड्ने काम हुँदैछ ।

५३ वर्षीय रोनाल्डो सौराहाको हात्ती प्रजनन् केन्द्रमा रहेका पोथी हात्तीसँग प्रजनन् गर्ने एक नम्बरको हात्ती रहेको थियो । रोनाल्डो हात्ती २४ वर्ष अगाडि निकुञ्जमा देखिएको थियो ।

रोनाल्डो ३८ वटा छावाको बाबू भएको निकुञ्जले जनाएको छ । दुई बर्ष अगाडि सौराहा क्षेत्रमा देखिएको भाले मकुना हात्तीलाई निकुञ्ज भित्र पठाउने क्रममा सेनाले गोली हानेर मारेको थियो ।

निकुञ्जमा रहेका पोथी हात्तीलाई प्रजनन् गर्न अब गोविन्दे र धु्रबे हात्ती मात्रै बाँकी छन् । रोनाल्डो हात्ती भइन्जेल ध्रुवे र गोविन्दे हात्ती प्रजनन् केन्द्रतिर देखिँदैनथे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्