काठमाडौं, ४ साउन । नेकपा एमालेले पार्टीमा रहेका सङ्गठित सदस्यहरुको सङ्ख्या नघटेको दाबी गरेको छ ।
एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले बिहीबार विज्ञप्ति गर्दै एमालेको सदस्य सङ्ख्या नघटेको दाबी गर्नुभएको हो ।
उहाँले प्रत्येक वडामा मतदाता सङ्ख्याको कम्तीमा तीन प्रतिशत सदस्य पुर्याउने र पार्टीको ११ औं महाधिवेशनसम्ममा १० लाख गुणस्तरीय सदस्य पुर्याउने लक्ष्य रहेको उल्लेख गर्नुभएको हो ।
एमालेले १० औं महाधिवेशनका बेला रहेको त्रुटिलाई पनि सच्याउने क्रममा अहिले वास्तविक पार्टी सदस्य सङ्ख्या रहेको स्पष्ट पार्नुभयो । एमालेले महाधिवेशनको आयोजना नभएको समयमा अहिले सक्रिय सदस्यको यथार्थ सङ्ख्या र योग्यतम सदस्यको मात्र नवीकरण गरिएको उहाँले बताउनुभयो ।
संगठन विभाग प्रमुख अधिकारीले एमालेले यसअघि महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यको सदस्यता नवीकरण हुने गरेको र जसले गर्दा निष्क्रिय सदस्यले पनि नवीकरण गर्ने अवसर पाउने गरेको उल्लेख गर्नुभएको छ ।











