
अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखीय योगदान रहेको बताउनुभएको छ ।
जुम्लामा आयोजित कार्यक्रमा उहाले अझ कर्णाली जस्तो क्षेत्रको विकासमा कृषिको भूमिका निकै महत्वपूर्ण हुने बताउनुभयो ।
’कृषि उत्पादन वृद्धि विना मुलुकको आर्थिक समृद्धी सम्भव छैन,’ उहाले भन्नुभयो, ’किसानलाई प्रोत्साहन, सहुलियत कर्जा, उत्पादित वस्तुको बजारीकरण तथा ढुवानीमा सहुलियत दिन सरकार तयार छ ।’
अर्थमन्त्री शर्माले कर्णालीसँग समग्र मुलुकलाई नै पाल्न सक्ने सामार्थ्य भएकोले कर्णालीमा लगानी बढाउन जरुरी रहेको बताउनुभयो ।
किसान पेन्सन कार्यक्रमलाई दुर्गममा पुराउँन, किसानलाई उपयुक्त प्रविधि मल बिउ समयमै पुराउन सरकार लागिरहेको पनि उहाले बताउनुभयो ।
जुम्लाको गुठीचौर गाउँपालिका–५ स्थित गुठीचौर एग्रो फार्मको उद्घाटन गर्न शनिवार जुम्ला आएका अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रलाई उकास्न र बलियो बनाउन कृषि क्षेत्रको योग्दान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाले भन्नुभयो, ’जुम्लाको स्याउ, सिमी र ओखरले नै जुम्लाको अर्थतन्त्रमा सुधार ल्याउँछ । तीनै तहका सरकारले कृषिमा युवा आकर्षित गर्ने नीति ल्याउन जरुरी छ ।’
कर्णाली कृषि, पर्यटन, जडिबुटीका हिसाबले प्रचुर सम्भावनायुक्त प्रदेश भए पनि ठोस नीति र प्रर्याप्त बजेट अभावले कर्णालीको अर्थतन्त्र सुधार नभएको उहाले बताउनुभयो ।
जुम्लाका उत्पादनलाई सहज रुपमा बजारमा पुराउन, किसानलाई सहुलियत दिन तथा बिचौलियालाई पाखा लगाउन सरकारले ठोस नीति लिने शर्माले बताउनुभयो ।
कर्णालीको कृषिमा प्रर्याप्त लगानी भए कर्णालीको गरिबी पाँच वर्षमा अन्त्य हुने समेत उहाको दाबी छ । जुम्ली उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुराउने सहज वातावरण बनाउन सरकार लागि परेको बताउनुभयो ।
यस्तै, सांसद गजेन्द्रबहादुर महतले गुठीचौर एग्रोफर्म जुम्लाकै नमुना र आर्थिक समृद्धीको आधार रहेको बताउनुभयो । यसले धेरैलाई रोजगारी दिनुको साथै कृषिमा नयाँ आयाम ल्याएको उहाले बताउनुभयो ।
गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले निम्न वर्गीय नागरिकको जीवनस्तर उकास्न कृषिमा पालिकाले लगानी बढाउने बताउनुभयो ।
२०७५ सालदेखि सुरु भएको एग्रोफर्ममा १३ करोड लगानी गरेर ३३ हजार स्याउको बिरूवा रोपेको सञ्चालक मिमबहादुर भण्डारीले बताउनुभयो । उहाले ५० हजार बिरुवा रोप्ने लक्ष्य रहेको बताउनुभयो ।